close

कर्णालीमा हिमपात : चिसो बढे पनि किसान दंग

कर्णालीमा हिमपात : चिसो बढे पनि किसान दंग

Trulli
ADVERTISEMENT

मुगु- साविक कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, कालीकोटमा लामो समयपछि बिहीबार रातीदेखि हिमपात भएको छ । माघ अन्तिम सातामा हिमपात हुँदा मुगुसहित कर्णालीका कृषक खुसी भएका छन् ।


बिहीबार मध्याहन्देखि मुगुमा बादल लाग्नुका साथै मध्यरातीदेखि वर्षासँगै हिमपात हुँदा चिसो बढेको छ । रातीदेखि आएको हिमपातले मुगुमा तापक्रम माइनस १२ डिग्रीमा झरेको छ ।

 

त्यस्तै, हुम्लामा माइनसमा झरेको छ भने जुम्लामा माइनस ३ मा झरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । 


प्रजिअ थापाका अनुसार बजार क्षेत्र आसपास सामान्य हिमपात भएको छ भने उच्च भेगमा बढी भएको छ । यस्तै, डोल्पामा भने सदरमुकाम दुनैमा हिमपात सामान्य रहेको छ भने उच्च क्षेत्रमा बढी परेको छ ।

 

मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका उच्च भेगमा बाक्लो मात्रा हिमपात भएको त्यहाँका स्थानीयले बताए । सदरमुकाम गमगढी बजारमा सामान्य वर्षा भएको छ । 

 

हिमपात हुँदा जिल्लाका छायानाथ रारा नगरपालिका, मुगुमकार्मारोङ गाउँपालिका, सोरु गाउँपालिकाका केही क्षेत्र सेताम्ये देखिएका छन् । 

 

कृषिलाई लाभ

माघ अन्तिम साता परेको हिमपातले जेठमा पाक्ने अन्नबाली उवा, गहुँ, जौ उत्पादन बढ्न सक्ने किसान बताउँछन् । 


कर्णालीका खेतबारीमा लगाइएका अन्नबालीलाई पुसदेखि जेठसम्म बेलाबेला पानी आवश्यक पर्ने भएकाले यस वर्ष समयमै वर्षा नहुँदा किसान चिन्तित थिए ।

 

बिहीबारबाट सुरु भएको हिमपातले किसान खुसी भएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख कमलबहादुर सुनारले बताए । 


ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा कर्णालीसँगै मुगुका कृषक पनि खुसी छन् । मुगुमा यो वर्ष पहिलो पटक हिमपात भएको हो । 

 

बाजुरामा पनि हिमपात

 

बिहीबार रातीदेखि बाजुरामा पनि वर्षासँगै हिमपात भएपछि स्थानीय किसान बाली सप्रिने भन्दै खुसी भएका छन् । लामो समयदेखि पानी नपर्दा चिन्तित बनेका किसानमा वर्षासँगैको हिमपातले खुसी ल्याइदिएको हो ।

 

‘करिब ३ महिनापछि वर्षासँगै हिमपात भएको छ । यसले अन्नबालीका साथै फलफूल र तरकारी बालीलाई समेत राहत भएको छ’, स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ की मैना जोशीले भनिन् ।

 

पानी नपर्दा बारीको तरकारी सुक्न थालेको अवस्थामा वर्षासँग हिमपात परेपछि राहत भएको उनको भनाइ छ ।


गत असोजयता पानी परेको थिएन । अघिल्ला वर्ष मंसिर, पुसमा हिमपात भइसक्थ्यो । यस वर्ष माघ अन्तिम सातासम्म पनि फुस्रा देखिने बाजुराका डाडाँकाँडा बिहीबार बिहानैदेखि सेताम्य भएका छन् ।

 

भारी हिमपातसँगै अत्यधिक चिसो बढेकाले बाजुराको जनजीवन कष्टकर भएको छ । भारी हिमपातले सडक बन्द भई सामान ढुवानी अवरुद्ध हुने चिन्तामा व्यापारी रहेका छन् ।

 

बाजुराको माथिल्लो भेगको सामान तल्लो भेग सदरमुकाम मार्तडीबाट सडक मार्ग भएर आउने भएकाले बढी हिमपात भए कच्ची सडक बिग्रने चिन्ता उनीहरूको छ ।