गुल्मी- केही समय पहिले कोरोना संक्रमणले घर र टोल बाराबर चल्थ्यो । कसैको कोरोना संक्रमणका कारण ज्यान गए नेपाली सेनाले मात्रै शवको व्यवस्थापन गर्थ्याे ।
तर, अहिले परिवार आफैँले नचाहे मात्रै नेपाली सेनाले शवको व्यवस्थापन गर्ने गरेको छ । इस्मा गाउँपालिकामा छिमेकीहरू आफैँले शवको व्यवस्थापन गरेका छन् । वडा नम्बर २ पालुखाका ६३ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण शनिबार निधन भएको थियो । उनको ९ वैशाखमा एन्टिजिन पोजेटिभ आएको थियो ।
उनका १ जना छोरा छन् । विपन्न र छिमेकी दाजुभाइ कोही नभएकाले केही बेर निर्णय गर्न गाह्रो पर्यो । नेपाली सेनालाई शव वाहन, शव ब्याग र अन्य धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आफूहरूकै पहलमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर शवको व्यवस्थापन गरिएको इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले बताइन् ।
केही बेर स्थानीयसँग समन्वय गरेर वडाले नै तोकेको स्थानमा शव व्यवस्थापन गरिएको खत्रीको भनाइ छ । ‘पहिलो पटक भएकाले गाह्रो परे पनि सिकेका छाैँ,’ उनले भनिन्, ‘महामारीअनुसार हामीले गरेको तयारी अपुग छ ।
इस्मा गाउँपालिकाले कोरोना नियन्त्रण र व्यवस्थापनका लागि वडा–वडामा सर्वदलीय तथा सर्वपक्षीय संयन्त्र निर्माण गरेको छ । यो संयन्त्रमार्फत कोरोना प्रभावित स्थानबाट आउनेहरूको तथ्यांक संकलन गर्ने, तिनलाई होम आइसोलेसनमा बस्न आग्रह गर्ने, बिरामी परे स्वास्थ्य संस्था वा कोभिड अस्पतालमा खबर गर्नेलगायतका काम गरिने गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले बताए ।
स्वास्थ्य संस्थाबाट कोभिड नियन्त्रणसम्बन्धी सबै काम हुने भएकाले कर्मचारी तथा सरोकारवाला सबैलाई कोरोना नियन्त्रणमा खटिन उनले आग्रह गरे ।
इस्मा गाउँपालिका वडा नम्बर ४ दोहलीमा ५ बेडको कोभिड-१९ अस्पताल निर्माण गरिएको छ । अस्पतालमा आवश्यक बेड, अक्सिजन, औषधी र जनशक्ति व्यवस्थापन गरिएको कोभिड-१९ अस्पताल इस्माका प्रमुख डा. निश्चल शर्माले जानकारी दिए ।
अहिले लक्षण भएकाहरूको एन्टिजिन परीक्षण, होम आइसोलेसनमा बसेकाको नियमित चेकजाँच र भेटघाट गरिएको शर्माले बताए ।
इस्माले पनि निषेधाज्ञा र कोराना संक्रमणलाई लक्षित गरी अत्यावश्यकबाहेकका सेवा १९ वैशाखदेखि अर्को सूचना जारी नहुँदासम्म बन्द गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तिले जानकारी दिए । गाउँपालिकामा विद्यालय भने गत सातादेखि नै बन्द छन् ।