close

नमोबुद्धमा छोरी जन्माउने आमालाई नगदसहितको सम्मान

नमोबुद्धमा छोरी जन्माउने आमालाई नगदसहितको सम्मान

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको छ ।  स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप नमोबुद्ध नगरपालिका वडा नम्बर ९ को सहयोगमा दाप्चा स्वास्थ्य चौकीले नगदसहित सम्मान गरेको हो । नगरपालिकाको विभिन्न वडाका आमालाई बुधबार आयोजित कार्यक्रममा प्रोत्साहन रकम प्रदान गरिएको थियो । 

 

कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले १ साउनदेखि १४ असोजसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ जना आमालाई नगद प्रदान गरे । वडा नम्बर ९ ले विगत वर्षदेखि नै दाप्चा स्वास्थ्य चौकीमार्फत छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


कार्यक्रममा सुत्केरी आमालाई छोरी जन्माएबापत वडाबाट प्रदान गरिने ५ हजार, स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत २ हजार, एम्बुलेन्स खर्चबापत १ हजार ८ सय, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप २ हजार र चार पटक गर्भ जाँच गराएबापतको ८ सय रुपैयाँ एकमुष्ट प्रदान गरिएको थियो । 


उक्त अवसरमा नगरप्रमुख तिमल्सिनाले नमोबुद्धले सडक, पूर्वाधार मात्रै नभई चेतनाको विकाससमेत अपरिहार्य रहेको तथ्यलाई दृष्टिगत गरी छोरी प्रोत्साहन, बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । यो वर्ष महिलाको स्वास्थ्य, शिक्षा र आर्थिक अवस्थालाई बलियो बनाउन थप नीति तथा कार्यक्रम तय गरिएको उनले बताए ।

 

नगरको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको, दाप्चा स्वास्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको तथा नगरमा थप एम्बुलेन्स व्यवस्था गरिएको उनको भनाइ छ । 


उपप्रमुख रामदेवी तामाङले समाजमा छोरीलाई गर्भदेखि नै विभेद हुँदै आएको बताउँदै त्यसलाई अन्त्य गर्ने उद्देश्यअनुसार छोरी जन्माउनेलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइएको बताइन् ।


उनले छोरीको आसमा दुईभन्दा बढी सन्तान नजन्माउन आग्रह गर्दै पहिलेभन्दा अहिले धेरै हदसम्म विभेद कम भएको र यसलाई पूर्ण रूपमा अन्त्य गरेपछि मात्रै समुन्नत समाजको कल्पना गर्न सकिने सुनाइन् ।


नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले छोरी जन्माउँदा हतोत्साही नभई गौरव गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले महिलालाई छोरी जन्माएबापत गौरवबोध होस् भन्ने उद्देश्यले थोरै भए पनि प्रोत्साहन रकम उपलब्ध गराउन थालिएको जानकारी दिए । आफ्ना बालबालिकाको पोषणका साथै शिक्षादीक्षामा पनि विशेष ध्यान दिन उनले आग्रह गरे । 


वडा नम्बर ९ का वडाध्यक्ष मेलबहादुर लामाले सामाजका विकृति अन्त्यका लागि सन्देशमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । आमा र बच्चाको स्वास्थ्यका लागि पोषणयुक्त खानेकुरा खान वडाबाट थोरै भए पनि आर्थिक सहयोग गर्न थालिएको उनको भनाइ छ । 


वडा नम्बर ११ का वडाध्यक्ष कृष्णबहादुर तामाङ, नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नवराज दाहाल, श्रीकृष्ण बहुमुखी क्याम्पसका प्राचार्य ज्ञानबहादुर भुजेल, वडा सदस्य ईश्वरी श्रेष्ठ, समाजसेवी हरि तिमल्सिनालगायतले छोरी जन्म प्रोत्साहन कार्यक्रमको प्रशंसा गरे ।