close

विपद् नियन्त्रणमा सफल हुँदै कनकाई

विपद् नियन्त्रणमा सफल हुँदै कनकाई

Trulli
ADVERTISEMENT

झापा–झापाको कनकाई नगरपालिका विपद्का दृष्टिकोणले उच्च जोखिममा छ । कनकाई नदीको बाढी बस्तीमा पसेपछि नागरिक प्रभावित हुने गर्थे । स्पष्ट नीति र विपद् न्यूनीकरणको पूर्वतयारी अभाव हुने गथ्र्याे । तर, अहिले नगरपालिकाले विपद्लाई रोक्ने मात्र नभई त्यसबाट जोगिने नीति अवलम्बन गरिरहेको छ । 

 

कनकाई नगरपालिकामा बर्खा लागेसँगै धेरैलाई बाढीको चिन्ताले पिरोल्छ । कनकाई नदीमा आउने बाढीले शरणामती, टाघनडुब्बा, कुमरखोद र महाभाराका नागरिक प्रभावित हुने गरेका छन् । जनधनको क्षति बेहोर्दै आएका नागरिकको समस्या बुझेर नगरपालिकाले आकस्मिक तथा विपद् जोखिम न्यूनीकरण कोष बनाएर काम गरेको पाइएको छ ।

 

अहिले युएसएआइडी र रेडक्रस सोसाइटीको सहयोगमा कनकाई नदी किनारको डाँडोमा सूचना प्रणाली जडान गरिएको छ । बर्खाको समय आउने बाढीको संकेत दुई घन्टाअगावै दिँदा नागरिकलाई सुरक्षित स्थानमा लैजाने अवस्था बनेको छ । सुरुंगा, घाँग्रा र चुरेबाट आउने अन्य खोलाखोल्सी किनारमा तटबन्ध निर्माण भएको वडा नम्बर २ का वडाध्यक्ष परशुराम गिरीले बताए ।

 

विपद् निम्तिए सावधानीपूर्वक अघि बढ्नुपर्छ भन्ने चेतना नगरपालिकाले नागरिक स्तरमा प्रवाह गरेको छ । विपद् प्रतिकार्य तालिम दिएर विपद्को अवस्थामा एकजुट भएर जनधनको क्षति कम गर्न नागरिक पनि सक्षम बन्दै गएको वडा नम्बर ८ का वडाध्यक्ष प्रेमबहादुर कटुवालको भनाइ छ ।


गुरुयोजना नै बनाएर खोलालाई व्यवस्थित गरिएका कारण कुनै पनि नदीको पानी बस्तीमा पस्ने जोखिम कम भएको नगर कार्यपालिका सदस्य सीता अधिकारी र नगरपालिकाका योजना अधिकृत विवेक भण्डारीले जानकारी दिए ।

 

नगरपालिकाको सबै वडामा विपद् व्यवस्थापन समिति गठन गरेर विपद् निम्तिए तत्काल राहत तथा उद्दार गर्न सकिने अवस्था सिर्जना भएको कनकाईका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।


विपद् व्यवस्थापनको प्रतिकार्यभन्दा पनि विपद् नै हुन नदिने अवस्था सिर्जना गर्न नगरपालिकाले काम गरिरहेको छ । विपद् निम्तिएपछि पछुताउनुभन्दा हुनै नदिने गरी कनकाईले बनाएको नीतिले नागरिकको अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुने देखिन्छ ।