close

गोरखामा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक

गोरखामा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक

Trulli
ADVERTISEMENT

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गोरखा जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रूपमा रोक लगाइने भएको छ।

 

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा खलल पुग्न सक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो ।

 

यसैगरी गोरखा जिल्लाभरि नै होटेल, रेष्टुरेण्टलगायत अन्य पेसा व्यवसाय बिहान ७ बजेदेखि साँझ ९:३० बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिएका छन्।

 

निर्वाचनका लागि प्रचारका क्रममा दलहरूबिच शान्ति सुरक्षामा खलल हुने खालका गतिविधि हुन नदिन एकै स्थान, समय र बाटो पर्ने गरी कार्यक्रम आयोजना नगर्ने, चुनाव प्रचारप्रसारका लागि कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र सञ्चालन गर्ने सहमति पनि सर्वपक्षीय बैठकमा भएको छ।

 

बैठकमा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने, दलहरूबिच प्रचारप्रसारका कार्यक्रम गर्दा सामाजिक सद्भाव कायम राख्ने गरी सञ्चालन गर्ने र निर्वाचन अवधिभरसम्म आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, च्याम्बर अफ कमर्सलगायत सङ्घसंस्थाले आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको छ। -रासस