close

खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका

खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका

Trulli
ADVERTISEMENT

कैलाली । टीकापुर नगरपालिकाले वर्षात‍्का समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत  गरिरहेको जनाएको छ । 

टीकापुर –१ को मालिका टोल जाने बाटो वर्षातका समयमा बिग्रिएर सडक हिलाम्मे र मर्मत नहुँदा त्यहाँबाट आवतजावतमा समस्या भएपछि नगरपालिका गुहार्दा सडक बनेको र हिँड्न सहज भएको स्थानीय चम्मन चौधरीले बताए ।

टीकापुर नगरक्षेत्रका अधिकांश सडक जीर्ण छन् । नगरपालिकाभित्र रहेका वर्षौँअघि बनेका कतिपय कालोपत्र सडकसमेत भत्किएका छन् भने ग्राभेल सडक खाल्डाखुल्डी परेर नागरिकलाई आवतजावतमा समस्या भइरहेका छन् । 
वर्षातका समयमा यसरी बिग्रिएका सडकमा आवतजावतमा नागरिकलाई बढी समस्या हुन्छ । नागरिकका गुनासाअनुसार पालिका यतिखेर खाल्डाखुल्डी मर्मतमा जुटेको छ । पालिकाले सडक अवरुद्ध भए, कतै डुबान भए प्राविधिकलाई सम्पर्क गर्न सूचना गरेको छ । त्यसका साथै कुन क्षेत्र कसले हेर्न भनी प्राविधिकलाई समेत काम बाँडफाँट गरेको छ । 

नगरपालिकामा धेरै सडक आजभोलि हिलाम्मे र खाल्डाखुल्डी छन् । त्यसैलाई ध्यानमा राखेर नगरपालिकाले आफ्नै सवारीसाधन र जनशक्ति प्रयोग गरेर सडक मर्मतजस्ता कार्य गरिरहेको छ । पालिकाले नागरिकको माग र आवश्यकता हेरेर सडक मर्मत गर्ने कार्य गरिरहेको नगरप्रमुख रामलाल डगौरा थारूले बताए ।