close

छाडा चौपाया व्यवस्थापन गर्न दुई स्थानीय तहको संयुक्त कार्यदल

छाडा चौपाया व्यवस्थापन गर्न दुई स्थानीय तहको संयुक्त कार्यदल

Trulli
ADVERTISEMENT

कञ्चनपुर । गौमाता तथा नंदी व्यावस्थापनका लागि कञ्चनपुरको भीमदत्त र वेदकोट नगरपालिकाले संयुक्त कार्यदल गठन गरेको छ ।

आइतबार भीमदत्त नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ३ का अध्यक्ष गगनसिंह धामीको संयोजकत्वमा १३ सदस्यीय संयुक्त कार्यदल गठन गरिएको भीमदत्त नगरपालिकाले जनाएको छ ।

दुई स्थानीय तहको संयुक्त बैठकले दुवै पालिकाका सामुदायिक चौपाया व्यवस्थापनका लागि कानुनी मस्यौदा तयार गर्न १३ सदस्यीय कार्यदल गठन गरेको भीमदत्तका नगर प्रवक्ता महेन्द्र खड्काले बताए । ‘कार्यदलले १५ दिनभित्र कानुनी मस्यौदा तयारी गरी पेश गरिसकेपछि थप काम अगाडि बढ्नेछ’, उनले भने ।

नगरप्रमुख बोगटीले भीमदत्तले मात्रै गौमाता तथा नंदी (सामुदायिक चौपाया) व्यवस्थापन गर्दा वेदकोटबाट फेरि चौपाया आउने र वेदकोटले मात्र व्यवस्थापन गर्दा भीमदत्तबाट चौपाया उता जाने बताउँदै दुवै पालिकाले मिलेर व्यवस्थापन गरे मात्र समस्या समाधान हुने बताए । उनले सो विषयमा वेदकोटका प्रमुख, उपप्रमुखसँग छलफल गरी कानुनी मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको बताए ।

केहीदिन अगाडि नगरप्रमुख बोगटीको नेतृत्वको टोलीले सामुदायिक चौपाया व्यवस्थापनका लागि वेदकोट नगरपालिका–४ बैतडास्थित सम्भावित जग्गाको अवलोकनसमेत गरेको थियो । सामुदायिक चौपाया व्यवस्थापनका लागि भीमदत्त नगरपालिकाले यसअघि गौ संरक्षण अभियानका अभियन्ता योगी पिताम्बर, सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समयदेखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यूका अध्यक्ष लगायतसँग समेत छलफल गरेको थियो ।

भीमदत्तका नगरप्रमुख पदम बोगटी, उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट लगायतको बैठकमा उपस्थिति थियो ।