close

हरिवनमा आत्महत्याको घटना बिकराल बन्दै : रोक्नका लागि काठमाडौंका २ अस्पतालसँग सहकार्य

हरिवनमा आत्महत्याको घटना बिकराल बन्दै : रोक्नका लागि काठमाडौंका २ अस्पतालसँग सहकार्य

Trulli
ADVERTISEMENT

सर्लाही - हरिवन नगरपालिकामा पछिल्लो समय हप्ता नबिराई आत्महत्याको घटना हुन थालेपछि हरिवन सरकारको टाउको दुखाइ बनेको छ । 

आर्थिक समस्या, बेरोजगारी, प्रेम सम्बन्ध, सामाजिक सञ्जालको दुरुपयोग, दुर्व्यसन, अवहेलनालगायत विभिन्न समस्याका कारण पालिकाभित्र आत्महत्याको संख्या बढेको नगरपालिकाले जनाएको छ । स्थानीय बासिन्दासँग सामान्य चुनौतीको सामनासमेत गर्न सक्ने क्षमताकाे कमी तथा मानसिक समस्याले नगरपालिका क्षेत्रमा आत्महत्याको संख्या बढेको हुनसक्ने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीको अनुमान छ । 

नगरपालिकामा मासिक रुपमा औसत ४ जनाले आत्महत्या गर्न थालेको आएको उनले पालिकाखबरलाई बताए । पछिल्लो समय युवा पुस्तामा आत्महत्या गर्ने समस्या बढेको उनको बुझाइ छ ।

सहकारीले रकम उपलब्ध नगराएको, ऋण चुक्ता गर्न नसकेकाे, आर्थिक समस्या, प्रेम सम्बन्ध तथा सुविधाजनक सामग्रीको प्रयोग गर्न नसक्नु पनि आत्महत्याकाे कारण हुनसक्ने उनको भनाइ छ । सामान्यभन्दा सामान्य समस्याकाे समाधान गर्न नसकेकाेले आत्महत्याकाे संख्या बढेकाे उनको बुझाइ छ । 

सो समस्या समाधानको लागि नगरपालिकाले मानसिक परामर्श सञ्चालन गर्दै आएको उनले बताए । नगरपालिकाले काठमाडौँंको मेट्राे अस्पताल र कान्ति बाल अस्पतालसँग समन्वय गरेर मनोसामाजिक परामर्श गर्दै आएको उनले बताए । 

परामर्शका लागि नगरपालिकाले चिकित्सक तथा मनोसामाजिक विज्ञहरुलाई खाजा तथा बसोबासको व्यवस्थापन गर्दै आएको उनले सुनाए । तलब भत्ताकाे व्यवस्था नभएकाले कम बजेटमा पनि साे कार्यक्रम सञ्चालन गर्दै आएकाे उनकाे भनाइ छ ।

हालसम्म मनोसामाजिक परामर्शबाट  १२ जना किशोरीलाई आत्महत्याबाट बचाइएको उनको भनाइ छ । 'मनोसामाजिक परामर्शबाट १२ जना किशोरीको ज्यान बचाइएको छ,' उनले भने, 'विभिन्न कारणले उनीहरु आत्महत्या गर्ने अवस्थामा पुगेका रहेछन् । परामर्शपछि उनीहरू सामान्य अवस्थामा आइसकेको छ ।'

आत्महत्या कम गर्नको लागि नगरपालिकाले विद्यालयका शिक्षक, प्रधानाध्याक तथा कर्मचारीलाई पनि तालिम दिँदै आएको उनले सुनाए । विद्यालयमा होमवर्क धेरै दिने र सो पूरा गर्न नसक्ने भएकाले विद्यार्थीहरूमा मानसिक समस्या देखिएको उनले बताए । 

'विद्यालयको टर्चरले पनि मानसिक समस्या भएको पायौँ । त्यसैले हामीले होमवर्क कम दिन अनुरोधका साथै विद्यार्थीहरूको मनोभाव बुझ्नका लागि परामर्शसमेत दिँदै आएका छौँ,' उनले भने । 

नगरपालिकाले मनोपरामर्शका साथै स्वास्थ्य सेवाको लागि साप्ताहिक तथा मासिक रुपमा विभिन्न शिविर सञ्चालन गर्दै आएको उनले जानकारी दिए । उनका अनुसार नगरउपप्रमुख महिला स्वास्थ्य परिक्षणमार्फत महिलाहरूको पाठेघर क्यान्सर तथा विभिन्न शिविर पनि सञ्चालन गर्दै आएकाे छ । 

नगरप्रमुख घरदैलो कार्यक्रमबाट जेष्ठ नागरिकलाई घरघरैमा चिकित्सकसहितको टोली गएर परीक्षण तथा उपचार गर्दै आएको उनले बताए । उपचारका लागि स्वास्थय संस्थामा जान नसक्ने नागरिकको लागि औषधिसहित घरमा गएर परीक्षण गरिरहेको उनले बताए । 

परीक्षणपछि सो नागरिकलाई आवश्यक औषधि वितरण गर्ने उनले सुनाए । जेष्ठ नागरिकको सुगर, प्रेसर, ज्वरो तथा विभिन्न समस्याको परीक्षण गरिने उनले जानकारी दिए ।