close

फोहरमैला व्यवस्थापन गर्न  कार्ड वितरण गरिँदै

फोहरमैला व्यवस्थापन गर्न  कार्ड वितरण गरिँदै

Trulli
ADVERTISEMENT

कञ्चनपुर- फोहरमैला व्यवस्थापन गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले मुख्य तीन बजार क्षेत्रमा निःशुल्क कार्ड वितरण अगाडि बढाइएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएका कलुवापुर, झलारी, वनसमिति, गर्जमुनी बजार क्षेत्रमा फोहरमैला व्यवस्थापन कार्ड वितरणका लागि कर्मचारी खटाएको हो । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ (२) ख मा भएको व्यवस्थासँगै नगरपालिकाको फोहरमैला व्यवस्थापन ऐन २०७५ र आर्थिक ऐन २०८० बमोजिम फोहरमैला व्यवस्थापनका लागि पूर्वपश्चिम राजमार्ग छेउछाउका व्यवसायी, उद्यमी, आवासीय क्षेत्रका घरघुरीको लगत सङ्कलन गरी कार्ड वितरणको कार्य भइरहेको नगरपालिकाको फोहरमैला व्यवस्थापन शाखाका प्रमुख कृष्णप्रसाद भट्टले बताए । 

उनका अनुसार लगत सङ्कलन र कार्ड वितरणका लागि चार जना कर्मचारीलाई खटाइएको छ । नगरपालिकाको आन्तरिक आय बढाउन र फोहरमैलालाई थप व्यवस्थित बनाउनका लागि यस कार्यलाई अगाडि बढाइएको उनले उल्लेख गरे । 

हाल झलारी, वनसमिति र कलुवापुर बजार क्षेत्रमा नगरपालिकाले निःशुल्करुपमा फोहर उठाउँदै आएको छ । लगत सङ्कलन र कार्ड वितरणको कार्य पूरा भएपछि नगरपालिकाले बजार क्षेत्रका घरधनीबाट फोहर उठाएबापत शुःल्क लिने भएको छ । फोहरमैला सङ्कलन गरेबापत उठाउने राजस्वबाट नगरपालिकाले फोहरमैला व्यवस्थापनमा खटिएका कर्मचारीको तलबको व्यवस्था गर्ने र बाँकी रहेको रकम थप फोहरमैला व्यवस्थापनका क्षेत्रमा खर्च गर्ने भएको छ ।  

उनका अनुसार भान्सा, घरबाट निस्कने फोहर, घर बाहिरबाट निस्कने फोहर, विद्यालयबाट निस्कने फोहर, बजारबाट निस्कने फोहर, अस्पतालबाट निस्कने गरी नगरपालिकामा हाल दुई मेट्रिकटन फोहर सङ्कलन हुने गरेको छ । “फोहरमैला व्यवस्थापनको कार्यले नगरपालिका भित्रका बजारको सौन्दर्यता बढ्छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “फोहरमैलाकै दुर्गन्धका कारण हुने रोगव्याधीको समस्या पनि हट्छ ।”