close

मधेशका १२ स्थानीय तहमा ‘सशक्त महिला समृद्ध नेपाल’ सुरु

मधेशका १२ स्थानीय तहमा ‘सशक्त महिला समृद्ध नेपाल’ सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं- मधेश प्रदेशका १२ स्थानीय तहमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम सुरु भएको छ । मधेश प्रदेशमा तुलनात्मक रुपमा पछाडि परेका महिलालाई सशक्त बनाउन कार्यक्रम सुरु गरिएको हो । 

लैंगिकतामा आधारित हिंसा रोकथाम तथा हानिकारक सामाजिक मूल्य मान्यता परिवर्तनमा पुरुष सहभागिता, महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरण, लैंगिक उत्तरदायी शासन र सामाजिकसँगै आर्थिक रुपमा सबल बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो  । 

मधेश प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेशको ६ वटा जिल्लाका १२ वटा पालिकामा सञ्चालन हुने ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रमलाई युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघीय निकायहरू युएनएफपीए, आइएलओ, युएन वुमन र युनिसेफले प्राविधिक सहयोग गरेका छन् ।

मन्त्रालयका अनुसार जनकपुरधाम उप–महानगरपालिका, नवराजपुरगाउँपालिका, सिराहा नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, नगराईन नगरपालिका, बौधीमाई नगरपालिका, यमुनामाई गाउँपालिका, बिन्दबासिनी गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, वीरगञ्ज महानगरपालिका, आदर्श कोतवाल गाउँपालिका गरी १२ वटा स्थानीय पालिकामा यो कार्यक्रम सन्चालन हुनेछ ।

कार्यक्रमको विहीबार जनकपुरमा उदघाटन गर्दै मधेश प्रदेश सभाका महिला बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रुपा कुमारी यादवले मधेशमा बढ्दै गएको महिला हिंसाको नियन्त्रण तथा महिला सशक्तीकरणमा यो कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा युएन वमनका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया, युरोपियन युनियनका डेपुटी हेड अफ कोअपरेसन, ईलोईजा आस्टुडिलो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका शाखा अधिकृत करूणा आचार्य, मधेश प्रदेशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू र मधेश प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु सहभागी थिए । 

मधेश प्रदेशका अतिरिक्त कर्णाली र सुदूरपश्चिम प्रदेश गरेर ३२ वटा स्थानीय तहमा चार वर्षका लागि सञ्चालन गरिने भएको छ । परियोजनामा १ करोड ९५ लाख अमेरिकी डलर लगानी गरिने बताइएको छ ।