close

हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा

हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा

Trulli
ADVERTISEMENT

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो आयोजनाको पाँच स्थानमा ट्याङ्की र पालेघर निर्माणसँगै चार हजार २०० मिटर मुख्य पाइप लाइन विस्तारको काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । अब शाखा लाइन विस्तार र करिब १५० मिटर मुख्य पाइप बिच्छ्याउन बाँकी रहेको समितिका अध्यक्ष बलबहादुर मगरले बताए । 

“आयोजनाको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ”, उनले भने, “कामलाई तीव्ररूपमा अघि बढाएका छौँ । हाल मुहानबाट करिब १५० मिटर मुख्य पाइप लाइन विस्तार गर्न बाँकी छ । विद्युत् विस्तारपछि पानी वितरणको काम थालनी गर्छौँ । बर्सेनि थोरै बजेट विनियोजन हुँदा काममा केही ढिलाइ भएको अवस्था छ ।”

यो आयोजनाबाट हतुवागढी गाउँपालिका वडा नं १ र २ रानीबासका करिब ८४८ परिवारलाई पानी विस्तार हुने उपभोक्ता समितिको भनाइ छ । हेङ्माखोला र कावाखोलाको बीचबाट लिफ्ट गरेर पानी बस्तीमा ल्याउन आर्थिक वर्ष २०७५/७६ बाट आयोजना निर्माण थालिएको हो ।

निर्माण भइरहेको आयोजनास्थलको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले स्थलगत अनुगमन गरेको छ । योजना सञ्चालन भइरहेको स्थानमा देखिएका समस्या समाधान गरेर चाँडो पानी सञ्चालन गर्ने लक्ष्यका साथ काम अघि बढाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए । 

“यो योजनाको पाइप लाइन विस्तारसँगै अन्य संरचनाको काम करिब अन्तिम चरणमा पुगेको छ”, प्रमुख सिंहले भने, “अब विद्युत् विस्तारको काम बाँकी छ । यो पनि चाँडो सुरु गरेर पानी सञ्चालन गर्ने लक्ष्य छ । तत्काललाई हामीले पहिलो लिफ्टमा पानी फाल्ने तयारी गरेका छौँ ।”

योजनाबाट पानीको समस्यामा रहेका स्थानीयलाई राहत मिल्ने हतुवावढी–१ का अध्यक्ष कुमार विष्टले बताए । यो आयोजनाबाट यहाँका ३०० भन्दा बढी परिवारले पानीको उपभोग गर्न पाउने उनको भनाइ छ । “यहाँका स्थानीय पानीको पर्खाइमा रहेको अवस्था छ”, उनले भने, “हामीले पनि आयोजना समयमा सम्पन्न गराउन भूमिका खेलिरहेका छौँ । पानी बस्तीमा आएपश्चात वर्षौँबाट रहँदै आएको पानीको समस्या अन्त्य हुनेछ ।”

वडाको तर्फबाट बाटो मर्मत गर्नेलगायतका काम गरेको हतुवागढी–२ का वडाध्यक्ष विचारी थापाले बताए । वडाको तर्फबाट ठूलो काम गर्न नसके पनि यो योजना सम्पन्न गराउन सडक विस्तारलगायत काम गरिरहेको उनको भनाइ छ । यो आयोजनाबाट यहाँका ४५० भन्दा बढी स्थानीयले पानीको उपभोग गर्न पाउने वडाध्यक्ष थापाले बताए ।