close

भुकम्प प्रभावितमा मानसिक समस्या, मनोपरामर्श सेवा दिँइदै

भुकम्प प्रभावितमा मानसिक समस्या, मनोपरामर्श सेवा दिँइदै

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- रुकुम र जाजरकोटका भुकम्प प्रभावितहरुमा अझैपनि मानसिक समस्या देखिएको छ । उपचारपछि घर फर्किएका घाइतेहरूमा र आफन्त गुमाएका भुकम्प प्रभावितहरुमा गम्भीर मानसिक समस्या देखिएको मनोविद् अपेक्षा गुरुङ बताउँछिन् । उनी भन्छिन्,  ‘भूकम्प प्रभावितहरु घरबार बिहीन मात्रै नभएर आफन्तहरु गुमाएका र घाइते भएकाहरुमा ठूलो मानसिक प्रभाव देखिएको छ ।’ जाजरकोटको नलगाड नगरपालिका –७ का अधिकांशमा यो समस्या देखिएको छ । 

‘उहाँहरुलाई समयमै मनोपरामर्श नदिँदा थप जटिलता पैदा हुनसक्छ भनेर हामिले समुदाय स्तर र विद्यालयहरुको बालबालिकाहरु, शिक्षकहरुका लागि निरन्तर तालिम, मनोपरामर्श दिदैँ आएका छौँ ।’ गुरुङले भनिन्, ‘भूकम्पबाट प्रभावित व्यक्तिको मानसिक अवस्था बुझेर नियमित रुपमा काउन्सिलिङ गरिरहेका हौं ।’

उनका अनुसार बालबालिका, जेष्ठ नागरिकहरूमा बढी मानसिक समस्या देखिएको छ । भुकम्प पछि खोज, उद्धार र राहत सँगै मनोपरामर्शलाई प्राथमिकतामा राखेर मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले भुकम्पबाट प्रभावित बनेका नागरिकहरुलाई परामर्श तालिम दिदैँ आएको छ । बिहिबार रुकुम पश्चिमको आठविसकोट स्थित शिक्षकहरुलाई मनोवैज्ञानिक सहयोग सम्बन्धि तालिम दिइएको छ । 

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका भुकम्पद्वारा बढी प्रभावित विद्यालयका शिक्षकहरुका लागि सिएमसी नेपाल द्वारा प्राथमिक मनोवैज्ञानिक सहयोग सम्बन्धि २ दिने तालिम दिइएको हो । आठविसकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त २ दिने तालिम आठविसकोट नगरपालिकाको नगर अस्पतालमा बिहिवार सम्पन्न भएको हो । तालिममा २० वटा विद्यालयमा शिक्षकहरुको सहभागिता रहेको थियो । 

शिक्षकहरुलाई विपदको अवस्थामा विद्यार्थीहरुले देखाउने मनोवैज्ञानिक असरहरू पहिचान गर्ने बालबालिकाहरूमा देखिन सक्ने आघातजन्य तनावको व्यवस्थापन मार्फत विद्यार्थीहरुलाई शिक्षण सिकाईको लागि तयार गर्ने र विपद्को अवस्थामा आफूमा आइपर्ने तनावलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा २ दिनको तालिम दिइएको सि एम सि नेपालका गोपाल बहादुर बोहराले बताए । त्यसैगरी कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै शिक्षा अधिकृत इन्द्र बिष्टले शिक्षा कलष्टरमा आफुले मनोपरामर्श जरुरी रहेको कुरा उठाएको र सोहि योजना अनुरुप यो तालिम सञ्चालन भएकोमा सिएमसी नेपाललाई धन्यवाद व्यक्त गरे ।

 तालिममा मनोविद् प्रदिप गोले, धनसिंह तामाङ र गोपाल बहादुर बोहराले प्रशिक्षण दिएका थिए । शिक्षकहरुले उक्त तालिम प्राप्त गरेर आ९आफ्नो विद्यालयमा विद्यार्थीहरुलाई प्राथमिक मनोवैज्ञानिक सहयोग कार्यक्रम संचालन गरिने पनि मनोविद् बोहराले जानकारी दिए । गत कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका समुदाय तथा विद्यार्थीहरूमा मनोवैज्ञानिक असर परको छ । 

उक्त तालिमको उद्घाटन आठविसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले गरेका थिए। उक्त असरलाई धेरै हदसम्म हल गर्ने लक्ष्यका साथ विभिन्न स्थानहरुमा यस्तो तालिम दिइने गरेको मनोपरामर्शकर्ता बिष्णु शाहीले बताए । यस अघि पनि स्वास्थ्य कर्मीहरुको लागि २ दिने तालिम प्रदान गरिसकिएको, १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको, मनोपरामर्श र नगर अस्पतालमा औषधिजन्य सेवा रहेको पनि साहीले बताए। हाल सिएमसी – नेपाल र पालिकाको साझेदारीमा ८ जना मनोविद् तथा मनोपरामर्शकर्ताहरुले भुकम्प प्रभावितहरुलाई घरभेट तथा प्राथमिक मनोवैज्ञानिक सहयोग गरिरहेका छन्। तालिममा भुकम्प पछि सबैभन्दा बढी असर बालबालिकामा देखिएको बताईएको छ । 

कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १ सय ५३ मध्ये ७८ बालबालिका रहेकोमा जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ। यो तथ्यांकमा रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकोमा २८ बालबालिका रहेका छन्।

 १० महिनाका दुई बालबालिकाले समेत ज्यान गुमाएका छन्। जाजरकोट भूकम्पमा परी जाजरकोटमा २४ विद्यार्थी र १ शिक्षक तथा रुकुम पश्चिममा १८ विद्यार्थी र १ विद्यालय कर्मचारीको मृत्यु भएको थियो ।