close

२ गाउँपालिकाको सहयोगमा कोसेली घर

२ गाउँपालिकाको सहयोगमा कोसेली घर

Trulli
ADVERTISEMENT

तनहुँ- देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा पालिकाको सहयोगमा कोसेली घर सञ्चालन सुरु गरिएको छ । 

देवघाट गाउँपालिका–५ का उद्यमशील महिलाहरूले कोसेली घर सञ्चालन गरेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०८/८१ को बजेट तथा कार्यक्रमअनुसार आइतबारदेखि कोसेली घर सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए । 

कोसेली घरमा उद्यमशील महिलाले आफूले उत्पादन गरेको हरेक वस्तु ल्याएर बिक्री गर्न सक्नेछन् । देवघाट गाउँपालिकाले विगतमा सञ्चालन गरेका विभिन्न हस्तकला, सिलाइसम्बन्धी कुसन, दुना टपरी बनाउने तालिम प्राप्त गरेका महिलालाई लक्ष्य गरी गाउँपालिकाको स्वीकृत बजेटअनुसार कोसेली घर स्थापना गरेको हो । 

कोसेली घरमा हस्तकलाद्वारा निर्मित सामग्री ल्याएर बिक्री वितरण गर्न  र बाहिरबाट देवघाट घुम्न आउने पाहुना र पर्यटकलाई कोसेलीस्वरुप प्रदान गर्न सकिने गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले जानकारी दिए । 

यसैगरी बन्दीपुरमा गाउँपालिका र बन्दीपुर परिश्रमी युवा समूहद्वारा हाम्रो बन्दीपुर कोसेली घर सञ्चालनमा आएको छ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पाहुनालाई लक्षित गरी कोसेली घर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । उनले भने, “बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटक घुम्नका लागि आउँछन् । उनीहरूले बन्दीपुरको चिनारीस्वरुप स्थानीयस्तरमा उत्पादित सामग्री लैजान सक्छन् । यहाँ खाद्यान्नदेखि हस्तकलाका सामग्री बिक्री वितरणका लागि राखिएका छन् ।”

जिल्लाको सदरमुकाम दमौलीमा पनि कोसेली घर सञ्चालनमा छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँद्वारा सञ्चालित कोसेली घर स्थानीय उत्पादन बिक्री वितरणका लागि प्रभावकारी बनेको छ । 

महिलालाई उद्यमशीलतामा जोड्न कोसेली घर सञ्चालन गरिएको महिला उद्यमी सङ्घ तनहुँका अध्यक्ष कल्पना गौलीले बताइन् । जिल्लाभरका महिलाले उत्पादन गरेका सामग्री एकै ठाउँबाट बिक्री वितरण गर्न कोसेली घर सञ्चालन गरिएको र यो प्रभावकारी बनेको उनको भनाइ छ ।

कोसेली घरमा डोको, कुचो, भाङ्ग्रो, ढकिया, बाँसका सामग्री, मुढालगायतका सामग्री बिक्री वितरणका लागि राखिएको छ । 

कोसेली घर सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले रु पाँच लाख सहयोग गरेको थियो । उक्त रकमबाट घर सजावट गरिएको छ । त्यस्तै सोही मन्त्रालयबाट रु दुई लाख सहयोग भएको थियो । उक्त रकमबाट गोदाम निर्माण गरिएको छ । कोसेली घर सञ्चालनका लागि पर्यटन तथा उद्योग कार्यालयले भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । कोसेली घरमा आठवटा पालिकाका महिला उद्यमीले बनाएका गरेका सामग्री राखिएका छन् ।