close

असल बुहारीलाई प्युठानको करुवा

असल बुहारीलाई प्युठानको करुवा

Trulli
ADVERTISEMENT

प्युठान- प्युठान नगरपालिकाले ज्येष्ठ नागरिकलाई स्याहार गर्नेलाई सम्मान गर्दै आएको छ । नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकको सुरक्षाको लागि भन्दै स्याहारकर्तालाई पुरस्कृत गर्ने कार्यक्रमको सुरुवात गरेको हो । पुरस्कार पाउनेमा छोरा, छोरी, बुहारी, नाति वा जो पनि पर्नेछन् । 

नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ देखि वृद्धवृद्धाको स्याहार गर्नेलाई सम्मान कार्यक्रमले निरन्तरता पाउँदै आएको छ । नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगीका अनुसार ज्येष्ठ नागरिकलाई राम्रोसँग स्याहारसुसार गर्ने स्याहारकर्तालाई पालिकाले नगद र सामानसहित सम्मान गर्दै आएको हो । 

अघिल्लो कार्यकालको जनप्रतिनिधिले कार्यान्वयनमा ल्याएको कार्यक्रमलाई आफूहरुले निरन्तरता दिएको उनले पालिकाखबरलाई सुनाए । नगरपालिकाले 'अग्रज'को सम्मान गरौँ भन्ने अभियानसहित सो कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ ।  

नगरपालिकाले ज्येष्ठ नागरिकलाई राम्ररी स्याहार गर्ने स्याहारकर्तालाई असल संरक्षकको रुपमा सम्मान गरेको उनले बताए । नगरपालिकाका ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाको लागि पालिकाले सो कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु धितालका अनुसार नगरपालिकाले प्रत्येक वर्षको ‘ज्येष्ठ नागरिक दिवस’को अवसरमा ज्येष्ठ नागरिकको स्याहार गर्ने स्याहारकर्तालाई पुरस्कृत गर्दै आएका छ । सम्मानको लागि पालिकाभित्रका वडा कार्यालयले व्यक्ति सिफारिस गरेर पठाउने उनको भनाइ छ । ‘कसलाई दिने भनेर वडाले सिफारिस गरेर पठाउनुहुन्छ । सोही व्यक्तिलाई सम्मान गर्ने हो,’ उनले भनिन् । 

नगरपालिकाले वार्षिक रुपमा १० देखि २० जना स्याहारकर्तालाई सम्मान गर्दै आएको उनले बताइन् । 'सम्मान स्वरुप प्रमाणपत्र, कहिले पानी तताउने भाडो, कहिले पूजा गर्ने करुवा वितरण गछौँ,' उनले भने, 'हामीले साधारण तरिकाले मात्रै सम्मान गर्दै आएका छौँ ।'

सो कार्यक्रमको लागि नगरपालिकाले वार्षिक रुपमा ५० हजार रुपैयाँ बजेट विनियोजन गर्दै आएको उनले सुनाइन् । थोरै रकमले धेरै जनालाई सम्मान गरे पनि कार्यक्रम प्रभावकारी भएको उनले दाबी गरिन् । 

'कार्यक्रमलाई सबैले राम्रो मान्नु भएको छ । ज्येष्ठ नागरिकलाई स्याहार गर्नु पर्ने भावनको विकास भएको छ,' उनले भनिन् । नगरपालिकाले स्याहारकर्ताको साथै सम्बन्धित ज्येष्ठ नागरिकलाई पनि संगै राखेर सम्मान गरेको उनले बताइन् । 

ज्येष्ठ नागरिकको लागि नगरपालिकाले सम्मान कार्यक्रम ल्याएको उनले बताइन् । हाल नगरपालिकामा सात हजारभन्दा माथि ज्येष्ठ नागरिक  रहेको उनले सुनाइन् । 

ज्येष्ठ नागरिकलाई लक्षित गरी नगरपालिकाले 'अन्तर पुस्ता सीप हस्तान्तरण' कार्यक्रम सञ्चालनमा ल्याएको छ । सो कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक विद्यालयमा गएर विद्यार्थीलाई विभिन्न सीप सिकाउने उनले सुनाइन् । ‘विद्यार्थीलाई ज्येष्ठ नागरिकबारे परिचय, व्यवहार र स्याहारसुसारबारे सिकाइने गरिन्छ,’ उनले भनिन् ।

नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष तथा प्रवक्ता सुमन श्रेष्ठले पालिकाको सो कार्यक्रमले ज्येष्ठ नागरिकको स्याहारसुसारको लागि प्रेरणा मिल्दै आएको बताए । 

‘ज्येष्ठ नागरिकलाई बृद्धाआश्रममा राख्नु पर्ने अवस्था नआओस् । सामाजिक सुरक्षा भत्ता परिवारका सदस्यले खाने अवस्था सृजना नआओस् भन्ने उदेश्यले यस कार्यक्रमलाई निरन्तरता दिएको हो,’ उनले भने । सो कार्यक्रममार्फत स्थानीय सरकार र स्थानीय बासिन्दाबीच अपनत्व ल्याउन सहज हुने उनले बताए । 

साथै नगरपालिकाले गत वर्ष पालिकाभित्रका १०० जना ज्येष्ठ नागरिकलाई पूजाआजासहित स्वर्गद्धारी घुमाउन लगेको उनले बताए ।

असल स्याहारकर्ताको छनौट गर्ने तरिका
नगरपालिकाले उचित स्याहारकर्ताको छनौटको लागि वडा कार्यालयलाई जिम्मेवारी दिएको छ । वडा कार्यालयले सिफारिस गरेर पठाएका व्यक्तिलाई मात्रै नगरपालिकाले सम्मान गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु धितालले बताइन् । 

वडा कार्यालयले ज्येष्ठ नागरिक सञ्जालको सहयोगमा स्याहारकर्ता छनौट गर्ने उनको भनाइ छ  । ‘वडामा ज्येष्ठ नागरिक सञ्जाल गठन गरेको छ,’ उनले भनिन्, ‘वडाको सञ्जाल र वडा अध्यक्षहरु ज्येष्ठ नागरिक भएको घरमा जानुहुन्छ । परिवारले कसरी स्याहार सुसार गरेको सोध्नु हुन्छ ।’

परिवारका सदस्यले ज्येष्ठ नागरिकलाई गर्ने व्यवहार र शैलीबारे सञ्जालले समय/समयमा अनुगमन गर्ने उनले सुनाइन् । सोहीबाट मूल्यांकन गरी वडा कार्यालयले नगरपालिकामा सिफारिस गरेर पठाउने उनले बताइन् । 

वडाध्यक्ष तथा प्रवक्ता सुमन श्रेष्ठका अनुसार वडा कार्यालयले विभिन्न प्रावधान राखी स्याहारकर्ताको छनौट गरिँदै आएको छ । उनले ज्येष्ठ नागरिकाको उमेर, स्वास्थ्य अवस्था र शारीरिक अवस्थाको आधारमा छनौट गरेको पालिकाखबरलाई बताए । 

‘अवसर नपाएका व्यक्तिको नामावलीको आधारमा छलफलको निचोड, ज्येष्ठ नागरिकको शारीरिक अवस्था, स्वास्थ्य अवस्थाबाट छनौट गरी पठाउने गरेका छौँ,’ उनले भने । हरेक वर्ष फरक फरक तरिकाले असल स्याहारकर्ता छनौट गर्ने गरेको उनको भनाइ छ ।