close

जन्म मृत्यु संस्कारमा क्षिरेश्वरनाथकाे साथ

जन्म मृत्यु संस्कारमा क्षिरेश्वरनाथकाे साथ

Trulli
ADVERTISEMENT

धनुषा- क्षिरेश्वरनाथ नगरपालिकाले गर्भवतीदेखि मृत्यु संस्कारसम्मको लागि आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाभित्र व्यक्तिगत घटना दर्तालाई बढाउनका लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाकी उपप्रमुख रचना श्रेष्ठका अनुसार आफूहरुले पहिलो कार्यकालदेखि नै सो कार्यक्रम सञ्चालन गर्दै आएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ देखि नै साे कार्यक्रम सञ्चालनमा ल्याएकाे उनकाे भनाइ छ । पालिकाभित्र विपन्न वर्गको सहयोगका लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको उनले पालिकाखबरलाई बताइन् । 

नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य परिक्षण, जन्म संस्कार, मृत्यु संस्कार, मोतिविन्दु तथा दीर्घरोगीको उपचारको लागि सहयोग गर्ने उनको भनाइ छ । सुरुवाती चरणमा नगरपालिकाले पालिकाभित्रको उत्कृष्ट विद्यार्थीलाई पुरस्कारसमेत व्यवस्था गरे पनि हाल स्थगित भएको उनले सुनाइन् ।

नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख बिम्बाकुमारी शर्माका अनुसार पालिकाभित्र व्यक्तिगत घटना दर्ता गर्नको लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । पालिकाभित्रका कतिपय स्थानीय बासिन्दा आर्थिक रुपमा विपन्न भएकाले समयमै व्यक्तिगत घटना दर्ता नहुने उनको भनाइ छ । 

‘आर्थिक अभावको कारणले विपन्न परिवारका सदस्य व्यक्तिगत घटना दर्ता गर्न आउनु हुन्न,’ उनले भनिन्, ‘पालिकाले केही सहयोग गरेपछि पैसा पाउने आशाले पनि घटना दर्ता गर्न आउनु हुन्छ ।’ कार्यक्रम सञ्चालनमा आएसँगै व्यक्तिगत घटना गर्नेकाे स‌ंख्या बढेकाे उनले सुनाइन् ।

 उनका अनुसार नगरपालिकाले सरकारी संस्थामा गर्भ परिक्षण गराउने महिलालाई एक हजार ८००, मृत्यु संस्कारको लागि १० हजार रुपैयाँ र मोतिविन्दु उपचारको लागि पाँच हजार रुपैयाँ सहयोग गर्दै आएको छ । 

साथै दीर्घरोगीका विरामीलाई पनि आर्थिक सहयोग गर्दै आएको उनको भनाइ छ । सम्बन्धित वडा कार्यालयको सिफारिसमा सो रकम वितरण हुने उनले पालिकाखबरलाई जानकारी दिइन् । 

'गर्भवती महिलाले स्वास्थ्य परिक्षणको कागजात र वडा कार्यालयको सिफारिसमा सो रकम पाउनेछन्,' उनले भनिन्, 'मोतिविन्दुका विरामीले डाक्टरको कागज र सम्बन्धित वडाको सिफारिसबाट सो रकम पाउनेछन् ।'

नगरपालिकाले आन्तरिक स्रोतबाट सो कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । कार्यक्रमको लागि नगरपालिकाले बार्षिक १० देखि १५ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । चालू आवमा कार्यक्रम सञ्चालन हुँदै आए पनि बजेटबारे जानकारी नभएकाे उनले बताइन् ।