close

वनभोजमा मासु, चिउरा र केरा खाएको करिब आधा घण्टामा नगरप्रमुखका स्वकीय सचिवको मृत्यु

वनभोजमा मासु, चिउरा र केरा खाएको करिब आधा घण्टामा नगरप्रमुखका स्वकीय सचिवको मृत्यु

Trulli
ADVERTISEMENT

रामेछाप- रामेछाप नगरपालिका नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरेका अनुसार वनभोज स्थल पुगेको ५ मिनेटमा नै उनलाई समस्या भएको थियो भने करिब आधा घण्टामा नै उनको मृत्यु भएको चिकित्सकले जानकारी दिएका थिए ।

नगरप्रमुख लवश्री न्यौपानेसहित 'वनभोज स्पट' पुगेका स्वकीय सचिव श्रेष्ठले सुरुमा २ चम्चा चिउरा र एक पिस मासु खाएका थिए । त्यसपछि एक कोसा केरा खाएपछि उनको शरीरबाट एक्कासी पसिना आएको थियो । त्यसपछि शितलमा बस्छु भन्दै आराम गरिरहेका बेला वनभाेजमा सहभागी भएका जिल्ला अस्पतालका डाक्टर केशव श्रेष्ठले उनको नाडी छामेर समान्य परीक्षण गरेका थिए । डाक्टर श्रेष्ठसहित ३ जना चिकित्सक पनि वनभोजमा सहभागी थिए । 

शितलमा नाडी छामेर केही मिनेट आराम गराउँदा सुधार नभएपछि उनलाई नगरपालिकाकै गाडीमा अस्पताल ल्याइएको थियो । गाडीबाट झरेर आफैं अस्पतालको बेडसम्म पुगी आफैंले सिरानी मिलाएर बेडमा पल्टिएका उनको केही मिनेटमा नै मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा पुगेका उनलाई तिर्खा लाग्यो भनेर पानी दिइएको थियो । पानी खाएपछि एक्कासी लगातार वाकवाकी भयाे । त्यसको केही मिनेटमा नै उनको मृत्यु भएको बताइएको छ । उनले विगत ७/८ वर्षदेखि प्रेसरको औषधि खाइरहेका पारिवारिक स्रोतले जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए । 

सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका छन् । उनको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य छ ।