close

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

Trulli
ADVERTISEMENT

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा जारी गरेको कर्फ्यु आदेश यथावत रहेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गरेको सूचनाअनुसार सोमबार साँझ ५ बजेदेखि कर्फ्यु जारी गरिएको थियो । आज बिहान ६ बजेदेखि १० बजेसस्म सर्वसाधारणको सुविधा र दैनिकीलाई ध्यानमा राखी केही खुकुलो बनाइए पनि अझै लम्बिने प्रशासन कार्यालयले जनाएको छ । 

रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगञ्जमा झडपको स्थिति सृजना भएकाले निषेधाज्ञा जारी गरिएको प्रजिअ भुसालले बताए । 

पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । 

निषेधाज्ञा जारी गरेको ठाउँमा हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेलालगायत उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाएको प्रजिअ भुसालले बताए । 

यसैबीच वीरगञ्ज महानगरपालिकाभित्र सुरक्षा व्यवस्था कडा बनाइएको छ । वीरगञ्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । 

महानगरको माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार एरियालगायत मुख्य चोक तथा गल्लीमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।