close

मदिरामा फसेकालाई गाउँपालिकाको सम्मान

मदिरामा फसेकालाई गाउँपालिकाको सम्मान

ADVERTISEMENT

पाल्पा- रिब्दीकोट गाउँपालिकाले विपन्न श्रमिक वर्गको सम्मान गरेको छ । बिहिबार गाउँपालिकाले पालिकाभित्रका ४० जना विपन्न श्रमिकको सम्मान गरेको हो ।

गाउँपालिकाले विपन्न वर्गका श्रमिकको अभिमुखिकरण, सम्मानका साथै निःशुल्क स्वास्थ्य बिमा गरेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । उनका अनुसार गाउँपालिकाका अधिकांश विपन्न श्रमिकहरु मदिरामा फसेका छन् ।

पालिकाभित्र मदिरा सेवनका कारण ३० देखि ४० वर्ष उमेर समुहका युवाहरुको ज्यान जाने क्रम बढेपछि गाउँपालिकाले मदिराको कुलतबाट युवालाई जोगाउन सो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

पालिकाले वडा वडामा विपन्न तथा श्रमिक वर्गका मदिरामा फसेका व्यक्तिको विवरण माग गरेको थियो । वडाबाट गाउँपालिकाका ६५ जना मदिरामा फसेका विपन्न श्रमिकको विवरण उल्लेख भएको थियो । विवरणमा भएका व्यक्तिलाई सम्मान, अभिमुखिकरण तथा स्वास्थ बिमा गर्न गाउँपालिकाले निमन्त्रणा गरेको र कार्यक्रममा ४० जना उपस्थित भएको उनले बताए ।

पालिका अध्यक्ष कार्कीले भने, 'अधिकाश नागरिक बिहानदेखि नै मदिरा सेवन गरेर काममा जाने, कमाइ भएका सम्पूर्ण रकम मदिरामा खर्च गर्ने, कमाइ नभएको दिन ऋण खोजेर भए पनि मदिरा पिउने, आफ्नो स्वास्थ्य र परिवारको प्रवाह नगरी बाटोमा सुत्ने व्यक्तिहरु हुनुहुन्थो I'

त्यस्ता व्यक्तिहरुलाई प्रहरी, पालिकाका स्वास्थ्य शाखाका प्रमुख, मदिराले जीवन तहसनहस भएर सुधारिएका व्यक्तिहरुद्वारा अभिमुखिकरण गरेको उनले पालिकाखबरलाई सुनाए ।