close

मदिरा पिउनेलाई कुलतबाट छुटाउन कार्यक्रम गरिएको हो– रिब्दीकोट गाउँपालिका

मदिरा पिउनेलाई कुलतबाट छुटाउन कार्यक्रम गरिएको हो– रिब्दीकोट गाउँपालिका

Trulli
ADVERTISEMENT

पाल्पा– रिब्दीकोट गाउँपालिकाले मदिरा पिउने व्यक्तिलाई अझ थप प्रोत्साहन गर्न नभई त्यस्तो कुलतबाट छुटाउन उक्त कार्यक्रम सञ्चालन गरेको स्पष्ट पारेको छ । 

गाउँपालिकाले फागुन १७ गते विपन्न (श्रमिक) वर्गलाई सचेतना तथा सम्मान कार्यक्रम र निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रम मदिरा पिउने व्यक्तिलाई थप प्रोत्साहन गर्न गरिएको बुझिएकाले सो नभई मदिरा छाड्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । 

पालिकाले गरिखाने वास्तविक विपन्न श्रमिक वर्गलाई काममा प्रोत्साहन गर्न तथा मदिरा सेवन गरी आफ्नो स्वास्थ्य, परिवार र समाजलाई समेत प्रभाव पारिरहेकाले सो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रममा मदिरामा फसेका मजदुर वर्गलाई त्यस्तो कुलतबाट छुटाउनको लागि मदिराले पार्ने खराब/असरको बारेमा समाज सेवामा लागेका बौद्धिक व्यक्ति, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट प्रशिक्षणात्मक सचेतना कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।

पालिकाभित्र मदिरा सेवनले ३० देखि ४० वर्ष उमेर समुहका युवाहरुको ज्यान जाने क्रम बढेपछि गाउँपालिकाले कुलतबाट युवालाई जोगाउन सो कार्यक्रम सञ्चालन गरेको उनले बताए । अध्यक्ष कार्कीले आफ्नाे सेवा सुविधाबाट स्वास्थ्य बिमासमेत गरिदिएका छन् । 

पालिकाले वडा वडामा विपन्न (श्रमिक) वर्ग तथा मदिरामा फसेका व्यक्तिको विवरण माग गरेको थियो । सबै वडाबाट गाउँपालिकाका ६५ जना मदिरामा फसेका विपन्न श्रमिकको विवरण प्राप्त भएको थियो । विवरणमा भएका व्यक्तिलाई सम्मान, अभिमुखिकरण तथा स्वास्थ बिमा गर्न गाउँपालिकाले निमन्त्रणा गरेको र कार्यक्रममा ४० जना उपस्थित भएको उनले बताए । 

कार्यक्रममा सहभागी भएका व्यक्तिले बिस्तारै कुलत छाड्दै जाने प्रतिवद्धतासमेत जनाएको गाउँपालिकाका अध्यक्ष कार्कीले पालिकाखबरलाई बताए ।