close

कुश्मामा जिपलाइन सरर...

कुश्मामा जिपलाइन सरर...

Trulli
ADVERTISEMENT

पर्वत–पर्वतमा निर्माण गरिएको जिपलाइन शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । कालीगण्डकी नदीको खोचमा रहेको सुपरम्यान शैलीको यो जिपलाइन एक वर्षमा सम्पन्न भई सञ्चालनमा आएको हो । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जिपलाइन उद्घाटन गरे ।

 

पर्वतमा साहसिक पर्यटन बढ्दै गएको समय जिपलाइन पनि पर्यटन प्रवद्र्धनको गतिलो माध्यम हुने अपेक्षा गरिएको छ । कुश्मा नगरपालिका वडा नम्बर ५ चाक्लेडिलदेखि वडा नम्बर ४ साउनेबगर पुग्ने जिपलाइनको लम्बाइ १ हजार ४०० मिटर छ ।

 

गत बिहीबारदेखि टिकट बुकिङ खुला गरिएको छ । जिपलाइनका लागि ३ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ । सञ्चालनमा आएको केही दिनसम्म १० प्रतिशत छुट दिन लागिएको सञ्चालक विदुर पौडेलले बताए । 

 

कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुआती गति प्रतिघन्टा १३० किलोमिटर हुने र गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने बताइएको छ ।

 

सुपरम्यान शैलीको विश्वको सबैभन्दा लामो (२ हजार ८०० मिटर) जिपलाइन दुबईमा रहेको र पर्वतको जिपलाइन त्यसपछिको लामो भएकाले पर्यटक आकर्षित गर्न महत्त्वपूर्ण हुने सञ्चालक पौडेलले दाबी गरे ।

 

हार्नेस कम्पनीले निर्माण गरेको जिपलाइन सुपरम्यान र क्लासिक दुवै किसिमबाट गर्न सकिनेछ । कालीगण्डकीलाई दुई ठाउँबाट ‘क्रस’ गर्न सकिने भएकाले पनि देशका अन्य ठाउँमा रहेका जिपलाइनभन्दा पर्वतको जिपलाइन विशेष रहेको लगानीकर्ताको दाबी छ । यो जिपलाइनको यात्रा ६० देखि ९० सेकेन्डमा पूरा हुन्छ ।