close

पर्यटन क्षेत्रमा कोरोना महामारीको त्रास

पर्यटन क्षेत्रमा कोरोना महामारीको त्रास

Trulli
ADVERTISEMENT

काठमाडौं–कोरोना महामारीको पहिलो र दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तंगिँ्रदै गरेको अवस्थामा पछिल्लो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले पुनः त्रास छाएको छ । पर्यटन क्षेत्रले विस्तारै लय लिँदै गर्दा ओमिक्रोन भेरियन्टको त्रासले पुनः यो क्षेत्रलाई त्रसित बनाएको हो ।

 

पछिल्ला दिनमा निरन्तर बढिरहेको महामारीको आँकडाले व्यवसायी मात्रै हैन, सर्वसाधरणलाई चिन्तित तुल्याएको छ ।कोरोना संक्रमणको बढ्दो ग्राफले मुलुकको आर्थिक र सामाजिक क्षेत्रलाई फेरि पनि त्रसित बनाउने आकलन गर्न थालिएको छ ।

 

महामारीको प्रतिकूल परिस्थितिका बीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसायलाई सञ्चालनमा राख्न व्यवसायीले माग गरेका छन् । कुल जनसंख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट डेल्टाजस्तो खतरा नभएको विज्ञले बताइरहेका छन् । 

 

तथापि नयाँ भेरियन्टले चाँडो संक्रमण फैलने र माघ मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ । कोभिड संक्रमितको ग्राफ हेर्दा पछिल्ला १० दिनमा अत्यधिक संख्यामा संक्रमित बढेका छन् । पुसको तेस्रो साता झन्डै ३०० हाराहारी संक्रमित रहेको आँकडा पुस मसान्तसम्म पुग्दा ५ हजार नागिसकेको छ । 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार ३० पुसमा ५ हजार ८७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका छन् ।

 

उनीहरूले कोरोना संक्रमण भन्दै हठात लकडाउन गर्नेजस्ता कार्यक्रमले विगतमा पर्यटन धराशयी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ ।

 

होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने, ‘खोपको मात्रा आधाभन्दा बढी जनसंख्याले लगाइसकेका छन् । संक्रमण बढे पनि एक्कासि बन्दाबन्दी गर्नुहुँदैन । मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, अत्यधिक संक्रमण बढेका विश्वका अन्य मुलुकले पनि यही अभ्यास गरिरहेका छन् ।’

 

स्वास्थ्य र आर्थिक क्षेत्रलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा सरकार र निजी क्षेत्रको समन्वयका साथ प्रभावकारी कदम अविलम्ब अघि बढाइनुपर्ने उपाध्यक्ष शाहको भनाइ छ । महामारीको त्रासले होटल क्षेत्र पनि सुनसानजस्तै छन् । विदेशी पर्यटक उल्लेख्य मात्रामा नआउँदा होटल खोल्नु र पाहुना कुर्नुपर्ने अवस्था मात्रै भएको एयरपोर्ट होटलका सञ्चालकसमेत रहेका उपाध्यक्ष शाहले बताए ।

 

‘होटल व्यवसाय सुस्त छ, व्यापार छैन, होटल खोलेर के गर्नू, मानिसमा अन्योल छ,’ उनले भने । विगतमा कोरोना भाइरस संक्रमण र सीमित स्रोत–साधनका बीच पनि सरोकारवाला निकायको समन्वयले महामारी नियन्त्रणमा सहजता भएको थियो । अहिलेको सन्दर्भमा सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन र निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुको विकल्प
देखिँदैन । 

 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईं कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताउँछन् । कोभिड–१९ का अघिल्लो लहरजस्तो यो पटकको भेरियन्ट बढी घातक नभएको विज्ञले बताइरहेको र खोपको मात्र बढेर, स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष ध्यान दिइरहेको अवस्था भएकाले तत्कालै बन्दाबन्दीमा नगएर पर्यटन क्षेत्रलाई सञ्चालन गरिनुपर्ने नेपाल पर्वतारोहण संघ (एनएमए) का महासविच कुलबहादुर गुरुङले बताउनुभयो । 

 

उनका अनुसार यसपटक वसन्तकालीन ‘स्प्रिङ’ पर्वतारोहणका लागि बुकिङ राम्रो छ । अघिल्लो वर्ष पनि यो सिजनका लागि बुकिङ राम्रो भए पनि बन्दाबन्दीले पर्वतारोहण राम्ररी सञ्चालन हुन नपाएको भन्दै महासचिव गुरुङले यसपटक वसन्तयामको पर्वतारोहणलाई लक्षित गरेर सरकारले बन्दाबन्दीको बाध्यतालाई विचार गरेको खण्डमा पर्यटन क्षेत्रलाई चलायमान बनाउनुको विकल्प नरहेको उल्लेख गरे ।

 

स्प्रिङ (मार्च, अप्रिल र मे महिना) सिजन सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि स्वदेशी र विदेशीको आकर्षण हुने गर्छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खोमबहादुर सुवेदी महामारीबाट सतर्कता अपनाएर व्यवसायलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रले प्रभावकारी कार्ययोजनाका साथ काम गर्नुपर्ने खाँचो औँल्याउँछन् । 

 

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बडुवालले कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको र व्यवसायलाई कसरी सञ्चालन गर्ने भन्नेबारे सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य जरुरी भएको बताए । 

 

पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन प्रवद्र्धनको रणनीति परिवर्तन गर्न सुझाव दिए । यस्तै, एक्सपिडिसन अपरेटर एसोसिएसनका अध्यक्ष डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खाले मापदण्ड बनाउनुपर्ने सुझाए ।