close

स्थानीयको आयस्तर उकास्न बन्दीपुरको रामकोटमा होमस्टे

स्थानीयको आयस्तर उकास्न बन्दीपुरको रामकोटमा होमस्टे

Trulli
ADVERTISEMENT

तनहुँ– पर्यटनको माध्यमबाट स्थानीय वासिन्दाको आयस्तर उकास्न तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर गाउँपालिका–३ मा पर्ने रामकोटमा घरबास सञ्चालनमा ल्याएको छ । बन्दीपुर आउने पर्यटक रामकोट पनि घुम्न जाने क्रम बढेपछि पाहुनालाई खाने र बस्ने व्यवस्था गराई आयस्तर परिवर्तन गराउन घरबास (होमस्टे)  सञ्चालनमा ल्याईएको बन्दीपुर गाउँपालिकाले जनाएको छ ।

 

मनमोहक प्राकृतिक दृश्य र मगर संस्कृतिमा रम्न सो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्दै गएकाले पाहुनालाई त्यही बस्ने व्यवस्था गरी आयस्तर परिवर्तन गर्न होमस्टे सञ्चालनमा ल्याइएको बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बताइन् ।  ‘बन्दीपुर बजार मात्रै नभई यस आसपासको क्षेत्रलाई ग्रामीण र साँस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम मार्फत घरबास सञ्चालनमा ल्याइएको हो’ उपाध्यक्ष गुरुङले भनिन् । बन्दीपुर घुम्न आउने पर्यटकहरू रामकोट आउने क्रम बढेसँगै रामकोट होमस्टे भरिभराउ हुने गरेको होमस्टे सञ्चालक समितिकी अध्यक्ष बिहीसरा आलेले बताइन् । घरबास प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त २० लाख रुपियाँबाट गाउँभित्र रहेको अव्यवस्थित बाटोलाई व्यवस्थित गर्ने काम गरिएको छ होमस्टेकी अध्यक्ष आलेलेले जानकारी दिइन् ।

 

८८ घरधुरी मगरहरूको मात्र बसोबास रहेको रामकोटका ३० घरमा मात्र होमस्टे सञ्चालन गरिएको छ । होमस्टेमा हाल एकै साथ ६० जनासम्म पाहुना राख्न सक्ने क्षमता छ । स्थानीयस्तरमा उत्पादित साग, गुन्दु्रक, मकै, गिठा, भ्याकुर, तरुल पर्यटकले कोेदोको ढिंडो, कोदोको रोटी, फापरका परिकार, गुन्द्रुकको अचार आदिको स्वाद लिन पाउँछन् । यसैगरी कोदोको रक्सी, स्थानीय बाख्रा, सुँगुर, बङ्गुर, स्थानीय कुखुराको मासु लगायतको पनि । बन्दीपुर आउने अधिकांश पर्यटकहरू रामकोट पुगेकै हुन्छन् । विशुद्ध मगरहरूको बस्ती रहेको रामकोटमा मगरहरूका जोडिएका घरहरू पनि हेर्न लायक विशेषता हो । मगरहरूको कौरा नाच पर्यटकहरूले अत्याधिक मन पराउने गर्छन् । मगर समुदायको भाषा, संस्कृति, रहनसहनलाई पर्यटनसँग जोड्दै स्थानीयको आर्थिक उपार्जनको पाटो बलियो बनाउने उद्देश्यले घरबास कार्यक्रम अगाडि ल्याएको गाउँपालिकाले जनाएको छ ।

 

होमस्टेको गण्डकी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गरे । सो अवसरमा चुमानले यस होमस्टेले आयस्तरमा उकास्न मात्रै नभई कला र सस्कृतिको संरक्षणमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । घरबासमा स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्राथमिकता दिइएको छ । बन्दीपुरमा आउने पाहुनालाई रामकोटसम्म पुर्‍याउने गरी विभिन्न पर्यटन लक्षित पूर्वाधारहरु निर्माण कार्य अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । मुख्यमन्त्री जैविक नमूना गाउँका लागि ७० लाख रुपियाँ र प्रदेश सरकारबाट घरबास प्रवद्र्धनका लागि १५ लाख रुपियाँ बजेट विनियोजन गरिएको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।  ‘स्थानीयवासीलाई स्वरोजगार बनाउन घरबासले थप सहयोग पुग्ने विश्वास गरिएको छ’ अध्यक्ष थापाले भने ।

 

रामकोट गाउँ मगरहरूको संस्कृति, परम्परागत शैलीमा निर्मित घर र वरपरका मनमोहक प्राकृतिक वातावरणमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परेको छ । होमस्टे सञ्चालनको लागि तीन महिने तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । पहाडकी रानी उपनाम पाएको बन्दीपुरसँगै जोडिएको गाउँ हो रामकोट । बन्दीपुरबाट करिब तीन किलोमिटरको दूरीमा रामकोट रहेको छ । उत्तरतर्फ लहरै देखिने हिमाल र विशाल सुखौराफाँट पनि पर्यटकलाई आनन्दित तुल्याउने विशेषता हुन । सानो ठाउँमै व्यवस्थित रूपमा परम्परागत शैलीमा बनेका मगरहरूको मौलिक घुमाउने घर अर्को विशेषता हो ।