close

कोरोनाले पाहुनाविहीन बने तनहुँका होमस्टे

कोरोनाले पाहुनाविहीन बने तनहुँका होमस्टे

Trulli
ADVERTISEMENT

तनहुँ–  सधैं पाहुनाको भिड लाग्ने व्यास नगरपालिका –१३ मा आँपस्वाँरा दलित सामुदायिक होमस्टे अहिले पाहुनाविहिन भएका छन् । कोरोनाले दुई वर्षदेखि पर्यटन व्यवसाय पुरानो लयमा अझै फर्कन नसकेपछि होमस्टे सञ्चालक मर्कामा परेका छन् । पाहुना नआउँदा होमस्टे सञ्चालक कामविहीन भएका छन् ।

 

कोरोना सङ्क्रमण कम हुँदै गएपछि हाल जनजिवन सामान्य लयमा फर्किए पनि पाहुना भने नआएको होमस्टे सञ्चालकहरुको भनाई छ । पाहुना नआउँदा व्यवसाय ठप्प भएको होमस्टेका सञ्चालकहरुको गुनासो छ ।

 

कोरोना सङ्क्रमण दर उच्च विन्दुमा पुगेपछि पाहुनाविहिन भएपछि होमस्टे सञ्चालकहरु खेती किसानी गरेर जीविकोपार्जन गरेको बताएका छन् । बास बस्न आएका पाहुनालाई प्रदान गरिएको सेवाबाट प्राप्त आम्दानीले जीविकोपार्जनमा केही सरलता आइरहेको अवस्थामा कोभिड–१९ को समस्या उत्पन्न भएसँगै घरबास प्रभावित भएको सञ्चालकहरु बताउँछन् ।

 

विपन्न दलित समुदायको आर्थिक अवस्था उकास्न सुरु भएको होमस्टेमा विदेशी पाहुनाको आगमन निकै आश लाग्दो थियो । २०७६ को चैतबाट देशव्यापी निषेधाज्ञा सुरु भएपछि पाहुनाविहिन भएको होमस्टे अझै तङ्ग्रिन नसकेको होमस्टेका सञ्चालक रेशम विकले बताए ।

 

कोरोनाले थलिएको पर्यटन दशैंपछि जुर्मुराउन थालेकोमा फेरि ओमीक्रोनले पुनः प्रभावित बनेको भानु नगरपालिका –१३ टुटेपानीस्थित टुटेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गुरुङले बताए ।  ‘दुई बर्षदेखि सुस्ताएको होमस्टेमा पाहुना भरिएर तंग्रिन्छ कि जस्तो लागेको थियो तर ओमिक्रोन फैलिएपछि पाहुना आउन पाएनन्’ अध्यक्ष गुरुङले भने ।

 

ग्रामिण पर्यटनको माध्यमबाट आर्थिक अवस्था उकास्न रोजेका गाउँलेलाई दुई बर्षसम्म कोरोनाले थला पारेको गुरुङले बताए । पर्यटक बढेर लय समात्न नपाउदैँ फेरि पाहुना आउन छाडेपछि होमस्टे सञ्चालक मर्कामा परेका हुन् । गुरुङ समुदाय बहुल वस्ती टुटेपानीमा २०७२ सालदेखि होमस्टे सञ्चालनमा ल्याइएको हो ।

 

२०७५ सालपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको थियो । बसाइ सराईले सुनसान गाउँ पाहुनाले गुल्जार हुदैँ गएपछि गाउँलेहरु उत्साहित बनेका थिए । गाउँमा पर्यटक बढ्न थालेपछि बजार झरेकाहरु गाउँ फर्किएर होमस्टे सञ्चालन गर्दैै पाहुनाको स्वागत सत्कारमा व्यस्त भएका थिए ।

 

दुई बर्षसम्म कोरोनाले पाहुनाविहिन हुनुपर्दा गाउँ फर्किएर होमस्टेमा लागेकालाई झन् मार परेको गुरुङको भनाई छ । पूर्वाधार विकासले बामे सर्दैगरेको होमस्टे पाहुनाविहिन हुदाँ गति लिन नसकेकाले सञ्चालक मर्कामा परेको उनले बताए ।

 

यस्तै पीडा चार बर्ष अघि सञ्चालन गरेर छोटो समयमा धेरै पाहुना भित्र्याउन सफल भिमाद नगरपालिका –९ भानुमतीको पाथर्दी सामुदायिक होमस्टेका सञ्चालकहरुको पनि छ । यस होमस्टेमा पनि पाहुना घटेका छन् । कोरोनाले थलिएको होमस्टे तंग्रिन नसकेको सञ्चालकहरुको भनाई छ ।

 

व्यवसायीक वोयर बाख्रा पालनको अध्ययन अवलोकन गर्न र होमस्टे बस्नलाई हुलका हुल बाँधेर आउने पाहुना घटेर एकाधको सङ्ख्यामा झरेको व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले बताए ।  ‘यहाँका उकाली ओराली, भञ्ज्याङ चौतारी, वन वनस्पति, झरना जताततै पाहुना हुन्थे, अहिले सुनसान बनेको छ’ अध्यक्ष आलेले भने ।

 

हाल ओमीक्रोनको असर घट्दै गएपछि होमस्टे खुला गरिएको छ । तर पाहुना नआएको सञ्चालकहरुको भनाई छ । गण्डकी प्रदेश सरकारले होमस्टेलाई दिने अनुदान जिल्लाका झण्डै ५० होमस्टेले लिएर पुर्वाधार विकास र प्रबद्र्धन गरेका थिए । अनुदान लिएर सुरु गरेका होमस्टे कोरोनापछि ठप्प छन् । चल्तीका होमस्टे टुटेपानी, रानागाउँ, आपस्वाँरा, हर्षपुर, पाथर्दी पनि पुरानै अवस्थामा फर्किन सकेको छैनन् ।