close

सम्पदा संरक्षणले चलायमान हुँदै रंगेलीको पर्यटन

सम्पदा संरक्षणले चलायमान हुँदै रंगेलीको पर्यटन

Trulli
ADVERTISEMENT

मोरङ–मोरङको रंगेली नगरपालिकामा प्राकृतिक सौन्दर्य र प्रचुर जैविक विविधताका थुप्रै स्रोत छन् । नगरपालिकाभित्र सबै समुदायको महत्व र पहिचान झल्काउने डेढ दर्जन बढी स्थल छन् । नगरपालिकाको चिनारी सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वका स्थलको संरक्षण गरेर पाँच वर्षमा स्थानीय सरकारले पर्यटन क्षेत्रमा  फड्को मारेको छ । 


मोरङको रंगेली नगरपालिकामा विशेषतः धार्मिक स्थल बढी छन् । यहाँका झन्डै १८ वटा धार्मिक अनुष्ठानका मठमन्दिर मुख्य गन्तव्य हुन् । मठमन्दिर र सम्पदाको उचित उपयोग गरेर पर्यटन बजार विस्तार गर्ने नगरपालिकाको योजनाले पर्यटकीय गतिविधि चलायमान बनेको छ । धार्मिक स्थलको विकास र विस्तारका लागि बहुवर्षीय योजना बनाएरै धमाधम पूर्वाधार निर्माण भइरहेको छ । समपूरक कोषमार्फत बजेट निकासा गरेर नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिने गरेको नगरप्रमुख दिलीपकुमार अग्रवालले जानकारी दिए ।

 

रंगेलीको गहनाका रूपमा काली मन्दिर परिचित छ । अत्याधुनिक कालीगढ शैलीमा निर्माण गरिएको यो मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको छ । यही मन्दिर छेउ नगरपालिकाले दर्शन गर्न आउने भक्तजनका लागि धर्मशाला निर्माण गरिदिएको छ । विवाह, व्रतबन्धसमेत गर्न मिल्ने गरी भौतिक पूर्वाधार निर्माण गरिएको वडा नम्बर ५ का वडाध्यक्ष महानन्द मण्डल र नगर कार्यपालिका सदस्य गिन्नीदेवी मण्डल बताउँछन् ।

 

नगरपालिकाको सबै वडामा दुईभन्दा बढी धार्मिक स्थल छन् । ९ वटै वडामा भारत र नेपालबाट भक्तजन आउने गरेका छन् । यसले पनि सबै वडाको समान ढंगले विकास भएको छ । वडा नम्बर ७ मा पर्ने संसारी माईमा हजारौको संख्यामा तीर्थालुको घुइँचो लाग्दा यहाँको आर्थिक उपार्जन पनि बढ्दै गएको रंगेलीको संसारीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय शंकरप्रसाद साहको भनाइ छ ।

 

नगरपालिकाले सर्वसुलभ यातायात र होटल तथा होमस्टे सञ्चालनमा समेत लगानी गरेको छ । पुरातात्त्विक महत्त्वका स्थल तथा लोक–संस्कृतिको संवद्र्धनजस्ता विषयमा जनप्रतिनिधिले देखाएको तदारुकताले रंगेलीमा पर्यटन फस्टाउँदै गएको छ । कुनै समय मोरङको सदरमुकाम विराटनगर सरेकामा चिन्तित रंगेलीबासी अहिले जनप्रतिनिधिले विकासमा हासिल गरेको सूचकबाट खुसी हुँदै गएका छन् ।