close

पर्यटनबाट नगरबासीको जीवनस्तर उकास्दै इलाम

पर्यटनबाट नगरबासीको जीवनस्तर उकास्दै इलाम

Trulli
ADVERTISEMENT

इलाम- हरियाली डाँडाकाँडा र इलाम एकअर्काकाका पर्याय हुन् । खुलेको मौसममा चियाबारीसहितको हराभरा दृश्यले पर्यटकको मन लोभ्याउँछ । धार्मिक, जातीय संस्कृति, तालतलैया र सिमसार क्षेत्रले आगन्तुक आनन्दित हुने गरेका छन् ।

 

काठैकाठको संरचना भएको इलाम बजार, दिदीबहिनी झरनाले इलाम नगरपालिका अनुपम सौन्दर्यको धनी बनेको छ । यही सौन्दर्यको रसपान गर्न वर्षेनि स्वदेशी, विदेशी पर्यटक नगरपालिका पुग्छन् । पर्यटनबाटै नगरबासीको जीवनस्तर उकास्न नगरपालिकाले यही क्षेत्रमा बढी बजेट विनियोजन गरेको छ ।

 

इलाम नगरपालिकाको पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटन प्रवद्र्धन समिति इलाम सञ्चालन निर्देशिका, २०७४ लागू गरिएको छ । सबै वडामा रहेका पर्यटकीय क्षेत्र पहिचान गरी पूर्वाधार निर्माणका लागि बाटो, पार्क, मूर्ति निर्माणका साथै पर्यटकीय स्थलको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नगरपालिकाले सहयोग गर्दै आएको छ । 

 

नगरपालिकाभित्र पाटेनागी, भालुढुंगा, रक क्लाइम्बिङ, सुकिलुम्बा पार्क, दिदीबहिनी झरना, सेतीदेवी मन्दिर, मूर्ति डाँडा पार्क, असले झरनालगायत पर्यटकीय स्थल रहेका छन् । 

 

नगरको पाटेनागी डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिकाले काम गरिरहेको छ । सूर्योदय र सूर्यास्तका लागि मात्र होइन, हिमाल अवलोकनका लागि पनि यो ठाउँ उपयुक्त छ । यो ठाउँको प्रचारकै लागि नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा पाटेनागीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने नीति अवलम्बन ग-यो ।

 

पालिकाको पहलमा अहिले यहाँसम्म कच्ची सडक पुगेको छ । सडक पुगेपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेको झापाबाट इलाम भ्रमणमा गएका कुमार राई बताउँछन् ।

 

यस्तै, दिदीबहिनी झरनालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न नगरपालिकाले सडकसँगै झरनामा पुग्ने पैदल मार्ग निर्माण गरिसकेको छ । यी दुई झरना अवलोकनका लागि बिदाका दिनमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । पाटेनागी र दिदीबहिनी झरना मात्र होइन, चियाबारी, लभडाँडा, भ्यू टावर, भालुढुंगालगायतका ठाउँ पर्यटकको रोजाइमा पर्ने गरेका
छन् ।

 

नगरपालिकाले स्थानीय संघ–संस्थासँग सहकार्य गरेर पर्यटकीय क्षेत्रमा पूर्वाधार बनाइरहेको इलामको भालुढुंगा सामुदायिक पर्यटक प्रवद्र्धन समितिका अध्यक्ष हरि गुरुङको भनाइ छ ।

 

हालसम्म नगरपालिकाले पाटेनागी क्षेत्र विकास गुरुयोजना निर्माण, भालुढुंगाको सौन्दर्यकरणसहित स्तरोन्नति, रक क्लाइम्बिङको सम्भावना पहिचान र सडक स्तरोन्नति, सुकिलुम्बा पार्कमा रेलिङ निर्माणसहित स्तरोन्नति, दिदीबहिनी झरनासम्म पुग्ने पदमार्ग तथा सेल्फी पुल निर्माण, सेतीदेवी मन्दिरसम्म जाने बाटो कालोपत्रे, मूर्ति डाँडाबाट सूर्यास्त र सूर्योदय अवलोकन गर्ने गरी पूर्वाधार निर्माण, असले झरनाको स्तरोन्नति, इलाम चियाबारीमा रेलिङ तथा पोखरी निर्माण तथा मर्मत गरेको छ ।

 

यस्तै, वडा नम्बर ७ मा पारिजात पार्क निर्माण, वडा नम्बर ७ मै चियाबारी लभडाँडा पार्क निर्माण, वडा नम्बर ७ मा चियाबारी व्यायाम पार्क निर्माण, वडा नम्बर ७ मा रहेको साकेलाथानमा यलम्बरको मूर्ति स्थापना, वडा नम्बर ८ मा हरितनगर पार्क निर्माण, वडा नम्बर ८ मा कम्पोस्ट प्लान्ट, बाटो स्तरोन्नति, वडा नम्बर ८ मा बौद्ध पार्क निर्माण, वडा नम्बर ८ मा खर्कपोखरी पार्क निर्माण, वडा नम्बर ९ मा काले दमाई पार्क निर्माण, पुरानो दरबारलाई अरनिको सांस्कृतिक संग्रहालयमा रूपान्तरण, वडा नम्बर १० मा माईभगवती वृद्धाश्रम पार्कको निर्माण, विभिन्न वडामा मूर्ति स्थापना गरेको छ ।

 

नगरपालिकामा आन्तरिक पर्यटक मनोरञ्जनात्मक एवं अन्य उद्देश्यका साथ भ्रमणका लागि पुग्छन् । नगरपालिकामा आइपुगेका पर्यटकलाई होटल, होमस्टेलगायतका सुविधा स्थानीयले उपलब्ध गराउँदै आएका छन् । यसले नगरपालिकामा रोजगारीसमेत सिर्जना भएको छ ।

 

स्थानीयको हातमा पैसा पर्न थालेको नगरपालिकाको सामाजिक विकास समिति संयोजक सीतादेवी रिजालको भनाइ छ ।आन्तरिक पर्यटकको उपस्थितिले नगरपालिकाका आम्दानी बढको छ । नगरबासीले पर्यटन क्षेत्रमा विकासको महसुस गर्न पाएका छन् ।