close

सगरमाथाको आधार शिविर सार्न सिफारिस

सगरमाथाको आधार शिविर सार्न सिफारिस

Trulli
ADVERTISEMENT

काठमाडौं । विश्वतापमान वृद्धि र मानवीय गतिविधिका कारण असुरक्षा बढेको भन्दै सगरमाथाको आधारशिविर सार्ने तयारी भइरहेको छ । 

अहिले खुम्बु हिमनदीकै छेउमा आधारशिविर छ। तर उक्त हिमनदी तीव्र गतिमा पातलिँदै गइरहेको छ। पर्वतारोहण गर्ने याममा आधारशिविरमा झन्डै १,५०० जना भेला हुन्छन्। उक्त स्थानभन्दा केही तल बाह्रैमास हिउँ नहुने ठाउँमा नयाँ आधारशिविर राखिने एक  अधिकारीले बताएका छ्न् । 

हिउँ पग्लेर बन्ने पानीले हिमनदीलाई अस्थिर बनाएको अनुसन्धानकर्ताहरू बताउँछन् भने पर्वतारोहीका अनुसार उनीहरू सुतेका बेला "खर्पास" (खाल्टो) पर्ने क्रम बढेको पाइएको छ।

"अहिले हामी आधारशिविर अर्को ठाउँमा निर्धारण गर्ने तयारीमा छौँ र छिट्टै सम्बन्धित सबै पक्षसँग परामर्श सुरु गर्नेछौँ," पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले भने । 

अहिले सगरमाथाको आधारशिविर ५,३६४ मिटर उचाइमा छ। महानिर्देशक अधिकारीका अनुसार नयाँ आधारशिविर त्योभन्दा २०० देखि ४०० मिटर तल हुनेछ।

पर्वतारोही र नेपाली अधिकारीहरूका अनुसार आधारशिविरको बीचमा रहेको एउटा खोल्सो वर्षैपिच्छे बढ्दै गएको छ। साथै खर्पास तथा चिराहरू पहिलाभन्दा बढी देखिन थालेको उनीहरू बताउँछन्। बिबिसी