close

दुई लाखले गरे चितवन निकुञ्जको भ्रमण

दुई लाखले गरे चितवन निकुञ्जको भ्रमण

Trulli
ADVERTISEMENT

चितवन । आर्थिक वर्ष २०७८/७९ मा झण्डै दुई लाख व्यक्तिले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत आवमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका छन् । 

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ आन्तरिक तथा १९ हजार ९८९ सार्क मुलुकका र १४ हजार ८०८ विदेशी नागरिकले निकुञ्जको भ्रमण गरेका थिए । 

एक वर्षको अवधिमा ७५ हजार २७७ महिला र ८० हजार ३४९ पुरुष (आन्तरिक पर्यटक)ले निकुञ्जको भ्रमण गरेका थिए । सार्क मुलुकका नौ हजार १३० महिला र १० हजार ८४९ पुरुष तथा विदेशी ६ हजार ७८० महिला र आठ हजार २८ पुरुषले निकुञ्जको भ्रमण गरेको तिवारीले जानकारी दिए । 

गत आवको चैतमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २६ हजार २१८ जनाले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २० हजार ८६९ नेपाली, दुई हजार २४८ सार्क मुलुकका र तीन हजार १०१ विदेशी नगारिकले निकुञ्जको भ्रमण गरेका थिए । निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लामा पर्ने भए पनि  जिप सफारीका लागि चितवन र नवलपुरबाट मात्रै स्वीकृति प्रदान गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा विभिन्न शीर्षकबाट ११ करोड ४९ लाख ९७ हजार राजश्व सङ्कलन गरेको छ ।