close

उपत्यकाका नगर प्रमुखहरू र पर्यटनमन्त्रीबीच छलफल

उपत्यकाका नगर प्रमुखहरू र पर्यटनमन्त्रीबीच छलफल

Trulli
ADVERTISEMENT

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा काठमाडौं उपत्यकामा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ । 

नेपाललाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय, संलग्नता र पहलकदमीको आवश्यकता रहेको पर्यटनमन्त्री श्रेष्ठले बताए । पर्यटन प्रवर्द्धनको उद्देश्यले आयोजना गरिने महोत्सवहरु अर्थपूर्ण हुनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाको मौलिक कला—संस्कृति र सम्पदाहरु संसारको लागि हेर्न लायक अमूल्य सम्पत्ति रहेको बताए । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको सम्पदा पुनःनिर्माण र विकास निर्माणको सबै काम विदेशीले गरिदिने हो भने नेपाल सरकार, संस्कृति मन्त्रालय, स्थानीय तह र पुरातत्व विभागको औचित्यतामाथि नै प्रश्न उठ्ने खतरा रहेको बताए । 

त्यस्तै काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले जात्रा सुरु हुनु अगाडि नै सम्पदा स्थलको सरसफाई लगायत रंगरोगनको कार्य अगाडि बढाउनुपर्ने बताउँदै उपत्यकामा खुल्ला ठाउँको कमी भएको हुँदा सार्वजनिक स्थलहरुमा पार्कहरु निर्माण गर्नुपर्ने, सार्वजनिक शौचालयहरु निर्माण गर्नुपर्ने र पार्किङको समेत उचित व्यवस्थापन हुनुपर्ने सुझाव दिए । 

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले सम्पदा पुनःनिर्माणको काम ठेकेदारीमार्फत गर्न नहुने तर्क राख्नुहुँदै बन्चरेडाँडामा उपत्यकाको फोहोर फाल्न नदिने विषय अव्यवहारिक भएको बताए । 

त्यस्तै गोदावरी नपाका प्रमुख गजेन्द्र महर्जनले नेपालमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकहरुलाई सहज र सुरक्षित रुपमा घुम्ने वातावरण सिर्जना गर्नुपर्ने र भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा सरकारले विशेष जोड दिनुपर्ने धारणा राखे ।