close

‘पोखरेली पर्यटन विकास गर्न विदेशी उडान गरौं, कोरला नाका खोलौं’

‘पोखरेली पर्यटन विकास गर्न विदेशी उडान गरौं, कोरला नाका खोलौं’

Trulli
ADVERTISEMENT

कास्की । कोरोना भाइरस संक्रमण देखिएपछि प्रभावित बनेको पर्यटन क्षेत्र पहिलेकै अवस्थामा फर्किसकेको छैन । संकट टरेपछि अहिले नयाँ लगानी गर्ने क्रम पनि चलिरहको छ । तर, पर्यटन क्षेत्र कसरी अघि बढ्छ र यसको दीगोपनबारे अर्को प्रश्न पनि छ । 

पर्यटन क्षेत्रमा केन्द्रीत रहेर आर्थिक आवाजले दीगो पर्यटन र विकास विषयमा आइतबार पोखरामा अन्तक्र्रिया गरेको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले पाहुनालाई गर्ने व्यवहार जति राम्रो हुन्छ । त्यसैले पर्यटकमार्फत सकारात्मक सन्देश प्रवाह भएर पर्यटन क्षेत्रको विकासमा भूमिका खेल्ने बताए । व्यवसायीले सेवा र वस्तुको मूल्य नेपाली र विदेशीलाई धेरै फरक गर्न नहुने उनको भनाइ छ । 

नीति तथा योजना आयोग, गण्डकीका उपाध्यक्ष डा. कृष्ण देवकोटाले अहिले फेवाताल घुम्ने नीति अनुसार ‘राउन्ड फेवा, भिउ फेवा’ अवधारणा ल्याइएको बताए । यसले पर्यटकको बसाईं पोखरामा लम्ब्याउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । प्रदेशको दोस्रो पञ्चवर्षीय योजना बनाउँदा पर्यटन क्षेत्रको गुरुयोजना बनाएर त्यसैअनुसार योजनामा समावेश गर्ने डा. देवकोटाले बताए ।


कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको र पर्यटन सचिवबाट पनि सकारात्मक प्रतिक्रिया आएको बताए । पर्यटकीय राजधानी घोषणा भएपछि लगानी बढाउनुपर्ने र पूर्वाधार थप्नेतिर व्यवसायीले पनि सोच्न आवश्यक रहेको उनले बताए । ‘पोखराको खास गुरुयोजना अझै बनिसकेको छैन । पोखराको विकास र पर्यटनको गुरुयोजना बनाउने काम भइरहेको छ,’ उनले भने । 

उनले लेकसाइडलाई आवसीय क्षेत्र नभई व्यावसायिक क्षेत्र बनाउनेतर्फ व्यवसायीले पनि सोच्न आवश्यक रहेकोमा जोड दिए । ‘लेकसाइडमा हल्ला भएर सुत्न पाइएन भन्ने पनि सुनिन्छ । लेकसाइडलाई सुत्ने ठाउँ होइन, व्यावसायिक क्षेत्र हो भन्ने बनाऔं,’ उनले भने ।

एसियाली विकास बैंक, कोयकालगायत संस्थासँग मिलेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म आउन वैकल्पिक मार्ग विकास र यातायात क्षेत्रको सुधारसम्बन्धी कामको थालनी भएको मेयर आचार्यले जानकारी दिए । पोखरा विमानस्थल–फलेपाटन–वन विज्ञान अध्ययन संस्थान पोखरा–बिरौटा हुँदै लेकसाइडसम्म पुग्ने गरेर साढे पाँच किलोमिटर दूरीको वैकल्पिक मार्ग विकासको योजना रहेको उनले सुनाए । 
पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरेली पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट उडान गर्ने वातावरण सरकारले गर्नुपर्ने बताए । ‘विमानस्थल पनि नाफामा चलाउने वातावरण बनाउनुपर्छ । छिमेकी देशको ग्रीन सिग्नल नहुँदासम्म हुँदैन । यसका लागि सरकारले गोभर्मेन्ट टु गोभर्मेन्ट (जी टु जी) वार्ता गर्न आवश्यक छ,’ उनले भने । भारतबाट सिधा उडान हुन सके र कोरला नाका खोल्न सके पोखरेली पर्यटन क्षेत्रको विकास हुने बताए । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले व्यवसायीको तर्फबाट आफूहरुले अहिले पोखरा–बंगलादेश उडान गर्न पहल गरिरहेको जानकारी दिए । ‘व्यवसायीले पहल गरेकोमा त्यहाँका विमान कम्पनी खुसी छन् । तर, यसका लागि सरकारले गोभर्मेन्ट टु गोभर्मेन्ट (जी टु जी) पहल गर्नुपर्छ,’ उनले भने । 

होटल व्यवसायी पुष्पराज अधिकारीले होमस्टेलाई सरकारले लगानी गर्नु अनुत्पादक भएको जिकिर गरे । उनले होमस्टेमा खर्च गर्नेभन्दा ठूलो खर्च गर्ने क्षमताका पर्यटक नेपाल भित्र्याउने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले भविष्यको पोखरा कल्पना गरेर अहिल्यै त्यसैअनुसारको पूर्वाधार विकासको तयारी थालिनुपर्नेमा जोड दिए । ‘पछि मेट्रो फ्लाइओभर कहाँ राख्ने भन्ने अहिले नै सोचौं,’ उनले थपे, ‘हामी फूल फुलाउन जोड गरौं मौरी पाल्न होइन । मौरी आफैं आउँछ । महत्वकांक्षा पालौं ।’

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) बुद्धिराज गुरुङले शान्ति सुरक्षा कायम गर्दा व्यवसायीलाई अप्ठेरो परे पनि त्यसलाई अन्यथा नलिन आग्रह गरे । कानुन कार्यान्वयनमा व्यवसायी पनि इमानदार भएर सहयोग गर्नुपर्ने उनको भनाइ थियो । अग्रज पर्यटन व्यवसायी लक्की क्षेत्रीले पर्यटनमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिइन् । 

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले पर्यटन क्षेत्रलाई दीगो बनाइराख्न नयाँनयाँ गन्तव्यको खोजी र विकास भइरहनुपर्ने बताए । ‘एउटा ट्रेकिङ रुट यो वर्ष बन्यो भने अर्को वर्ष नजिकैसम्म सडक पुग्छ । पर्यटक बस्ने, घुम्ने र धेरैभन्दा धेरै खर्च गर्ने अवस्था नभएपछि  पर्यटन क्षेत्र दीगो हुँदैन,’ उनले भने । रक क्लाइम्बिङ, हनी हन्टिङ पर्यटकलाई देखाएर त्यसलाई पर्यटन क्षेत्रको नयाँ आयाम बनाउन सकिने त्रिपाठीको भनाइ छ।