close

छायाँनाथ रारामा घोडा पाल्ने व्यवसायीलाई नि:शुल्क गलैँचा

छायाँनाथ रारामा घोडा पाल्ने व्यवसायीलाई नि:शुल्क गलैँचा

Trulli
ADVERTISEMENT

मुगु– छाँयानाथ रारा नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न नीति ल्याएको छ । नगरपालिकाका प्रमुख विष्णु कुमार भामले पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालनको अवधारणा ल्याएको बताए । उनले भने, ‘होमस्टे सञ्चालनका अवधारणा त पहिलेदेखि नै थिए । यस आर्थिक वर्षबाट होमस्टे सञ्चालन सम्बन्धी तालिम र अनुदान दिने नीति तथा कार्यक्रम ल्याएका छौँ ।’

पर्यटकीय नगरपालिका छाँयानाथ रारा नगरपालिकाका रारा ताल, चंखेली हिमाल, छायाँनाथ मन्दिर, मुगु कर्णाली नदी प्रमुख आकर्षणका केन्द्र हुन् ।  रारा ताल घुम्न जानेहरुले तालसम्म सवारी साधन प्रयोग गर्न नमिल्ने अवस्था रहेको र त्यहाँसम्म पुग्न घोडा चढ्नुपर्ने उनले पालिका खबरसँग बताए । त्यसैले घोडा पालन समिति बनाएर नगरपालिकाले प्रत्येक घोडा व्यवसायीलाई प्रोत्साहन स्वरुप घोडामा राख्ने लख्खाम, ताछी र गलैँचा निःशुल्क उपलब्ध गराउने नीति ल्याएको नगरप्रमुख भामले बताए । 

पर्यटन प्रवर्द्धनमै सहयोग पुग्नेगरी नगरपालिकाले ‘नगरप्रमुख स्वरोजगार कार्यक्रम’ समेत सञ्चालन गरेको उनले बताए । नगरपालिकाका सम्पूर्ण वडाहरुबाट १०० जनालाई रोजगारी उक्त कार्यक्रमबाट दिने नगरप्रमुख भामले जानकारी दिए । यसको लागि केही दिनअघि मात्र नगरपालिकाले सूचना प्रकाशित गरेर आवेदन माग गरेको छ । कार्यक्रमबाट २०/२० जना कुखुरा पालन, बाख्रा पालन, फलफूल खेती, तरकारी खेती र होटल व्यवसाय सञ्चालनमा एक/एक लाख रुपैयाँ उपलब्ध गराउने नीति नगरपालिकाले ल्याएको छ । 

‘नगरप्रमुख स्वरोजगार कार्यक्रम’ मार्फत नेपाल सरकारलाई नियमित कर तिरिरहेका व्यवसायीलाई अनुदान दिन एक करोड रुपैँया बजेट विनियोजन गरेको उनले सुनाए ।  यस्तै नगरपालिकामा पाइने रैथाने बाली तथा फलफूलको प्रचारमा पनि नगरपालिकाले ध्यान दिएको उनले जानकारी दिए ।

उनको अनुसार पालिकामा छिनो, काउलो, मार्से, फापर, जम्बू, सिस्नुको पाउडर, स्याउको धुलो, ओखर आदि रैथाने बाली तथा फलफूल प्रचुर मात्रामा पाइन्छ । यस्ता उत्पादनको प्रचारको लागि आउँदो कात्तिकमा ‘कृषि मेला प्रदर्शन, २०८०’ आयोजना गर्न लागिएको उनले बताए । ‘मेलामा किसानले खेती गरेका सबै सामानहरु बेच्न ल्याउँछन् । किसानलाई हामीले प्रोत्साहन पनि गर्ने गरेका छौँ,’ नगरप्रमुख भामले भने ।

नगरपालिकाले ‘कृषकसँग नगरप्रमुख’ कार्यक्रम लागु गरेको छ । यसको कार्यविधि समेत बनिसकेको उनले जानकारी दिए । कार्यक्रममार्फत किसानलाई बिउबिजन, मल, त्रिपाल, हाते औजार, हाते ट्याक्टर जस्ता कृषिजन्य सामाग्री उपलब्ध गराउने गरेको नगरप्रमुख भामले पालिका खबरलाई बताए ।