close

कुमाखको काखैमा टिकटक संसार

कुमाखको काखैमा टिकटक संसार

Trulli
ADVERTISEMENT

सल्यान- ‘कुमाखमा वर्षमा २ पटक मेला लाग्छ । पहिला ३६३ दिन सुनसान हुन्थ्यो तर अहिले बाह्रैमास आन्तरिक पर्यटक आउन थालेका छन् । त्यसैले त्यहाँसम्म पुग्न गाउँपालिका र संघले प्रचार र गोरेटो निर्माणका लागि बजेटको व्यवस्था गरेको छ ।’ कुमाख गाउँपालिका-७ का वडाध्यक्ष डम्बरबहादुर शाही पालिकाखबरसँग भन्छन्, ‘अहिले त टिकटक बनाउनकै लागि छिमेकी पालिकाबाट युवायुवती आउँछन् ।’

कुमाख धार्मिक तथा पर्यटकीय हिसाबले उत्तिकै महत्त्वपूर्ण छ भने दैलेखकै अग्लो पहाड हो । कुमाखको उचाइ २५३७ मिटर अग्लो छ । यहाँ जनै पूर्णिमा र कोजाग्रत पुर्णिमामा मेला लाग्ने गर्छ । त्यसदिन कुमाखमा रहेको सिद्धबाबाको मन्दिरमा पूजा तथा दर्शनका लागि हजारौं दर्शनार्थी आउने गर्छन् । 

बाँकी दिनहरू विगतमा सुनसान हुने गर्थ्यो । तर पछिल्लो समय विभिन्न संगीतमा भिडियो पोस्टको सजिलो माध्यम टिकटक आएपछि बाह्रैमहिना त्यहाँ बजारजस्तै लाम लाग्ने गरेको वडाध्यक्ष शाही बताउँछन् । वडाध्यक्ष शाहीका अनुसार अहिले सिद्धकुमाख, बनवाड कुबिन्दे
शारादा, बवगाड कुपिन्डे र दार्मा गाउँपालिकाबाट युवा घुम्नकै लागि आउने गरेका हुन् । त्यहाँ आइसकेपछि टिकटक बनाउनु र फोटो खिच्नु सामान्य र अनिवार्यजस्तै भएको वडाध्यक्ष शाहीले बताए । 

कुमाख गाउँपालिका-७ का वडाध्यक्ष शाहीका अनुसार कुमाखसम्म पुग्ने गोरेटो बनाउनका लागि चालु आर्थिक वर्षमा संघले ८ लाख रुपैयाँ विनियोजन गरेको छ भने गाउँपालिकाले पनि १० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाको बजेट प्रचारमा समेत खर्च गरिनेछ ।