close

गुराँस रोपनका लागि २० लाख विनियोजन

गुराँस रोपनका लागि २० लाख विनियोजन

Trulli
ADVERTISEMENT

दैलेख- गुराँस फूलको संरक्षण तथा प्रचारमा गुराँस गाउँपालिकाले जोड दिँदै आएको छ । गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि बर्सेनि जात-जातका गुराँसको बिरुवा थप्नुका साथै प्रचारप्रसारमा जोड दिँदै आइरहेको गाउँपालिकाकी उपाध्यक्ष सिवा कुमारी खड्काले पालिकाखबरलाई जानकारी दिइन् । 

गाउँपालिकाले गत आर्थिक वर्षमा ८ लाख रुपैयाँ बराबरको लागतमा वडा नम्बर ८ घ्युपोखरीमा बगैँचा निर्माण गरेको थियो । सो बगैँचामा १२ प्रकारका गुराँस रोपिएको गाउँपालिकाले जनाएको छ । गुराँस फूल हेर्नकै लागि पर्यटकहरू पालिकामा आउने गरेका छन् । 

यस वर्ष पनि पालिकाभर गुराँस रोप्नका लागि गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेकाको गाउँपालिका उपाध्यक्ष खड्काले बताइन् । उपाध्यक्ष खड्काकाअनुसार गाउँपालिका गुराँस हेर्नकै लागि पर्यटक आउने भएको हुँदा गुराँसको बिरुवा काट्न र फूल टिप्न प्रतिबन्धित छ ।