close

गाउँपालिकाकाे सहयाेगले पर्यटक तान्दै तीनतले झरना

गाउँपालिकाकाे सहयाेगले पर्यटक तान्दै तीनतले झरना

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिकामा तीनतले झरना वर्षौँदेखि आफ्नो सौन्दर्यता शालिनतापूर्वक प्रदर्शन गरिरहेको छ । तर धेरै समय भएको छैन, आन्तरिक पर्यटकले तीनतले झरनाको सौन्दर्यतामा रम्न थालेको । 

बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीस्थित तीनतले झरनामा यतिखेर आन्तरिक पर्यटक दैनिक बढ्न थालेका छन् । उक्त झरनाको मनमोहक दृश्यसँगै रम्न विशेषगरी आजकालका बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको छ । चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङ्गबेँसीको च्यालम तथा फाइमराङको बीचमा रहेको झरनामा गत वर्षभन्दा यस वर्ष पर्यटक निकै बढेको स्थानीय सञ्चारकर्मी नवराज सापकोटा बताउँछन् ।

उनले भने, 'झरनाबाट झरेको पानीमा पौडी पोखरी, पोखरी वरपर घेराबार तीन तलामध्येको झरनाको दोस्रो तल्लासम्म अवलोकनका लागि सिँढी तथा घेराबार निर्माण गरिएको छ, सुरक्षित मनोरञ्जनमा रमाउने पर्यटक दिनभर रमाउने र पुनः दोहोरिने गरेको पनि पाइयो ।'
 
महाभारत पर्वत शृङ्खलाको जङ्गलमुहान रहेको चिसो पानी बग्ने झरना तीन तला भई बगेका कारण नै तीनतले झरना नामकरण गरिएको हो । झरनाको दोस्रो तलासम्म पुगी दोस्रो तला तथा सबैभन्दा तलकोे तलाको झरनासँगै निर्माण गरिएको पोखरी अवलोकन गर्न सकिन्छ । चिसो, कञ्चन, सङ्लो र शुद्ध पोखरीमा डुुबुल्की मार्दै स्नान गर्नु यहाँको अर्को आर्कषण हो । प्राकृतिक झरनाको अवलोकन तथा सँगैको पोखरीमा डबुुल्कीको अनुभव लिनेहरु जो–कोही दोहोरिएर आउने गर्छन् नै ।

केही महिनादेखि झरना अवलोकन तथा केही दिन बिताउन चाहनेहरू काभ्रेपलाञ्चोककै बनेपा, धुलिखेल र पनौती सहरलगायत काठमाडौँ उपत्यकाबाट ट्राभल प्याकेज नै बनाएर आन्तरिक पर्यटक आउने गरेको वडाध्यक्ष मधुसुदन तिमल्सिनाले बताउँछन्। उनका अनुसार झरनामा जिल्लाका विभिन्न क्षेत्रका अलावा काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुरसँगै अन्य जिल्लाबाट समेत पर्यटक आउन थालेका छन् ।
 
पछिल्ला केही महिनादेखि झरना बालबालिकादेखि वयस्कसम्मको आकर्षणको केन्द्र नै बनेको पाइन्छ । झरनासम्म पुगेर खिचिएका तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सबैखाले पर्यटक लालायित हुने गरेको देखिन्छ । हाल तीनतले झरना जानेका लागि झरना नपुग्दै स्थलबाट केही वर होटल–लजकोसमेत व्यवस्था छ । झरनाको अवलोकन, पौडीका बाहिरी जिल्लाबाट आउनेहरूले स्थानीय मौलिक खानाको चासो राख्ने गरेकोसमेत स्थानीयको भनाइ छ । 

स्थानीय गाउँमा उत्पादित खुवा, मह, तरकारी तथा लोकल मकैको ढिँडो, गुन्द्रुकलगायत परम्परागत खानाको व्यापार बढेको स्थानीय व्यवसायी  बताउँछन् । झरना अवलोकनको रमाइलोसँगै स्थानीय मौलिक खानाले झरनासम्म पुग्नेको यात्रा अविस्मरणीय बनाएको पर्यटकले आफूलाई सुनाएको स्थानीय व्यवसायी सुमन दाहाल बताउँछन् ।
 
झरनासम्म पुग्न क्षेत्रअनुसार फरक–फरक मार्गको उपयोग गर्न सकिन्छ । काभ्रेपलाञ्चोककै पनौती बसपार्कबाट करिब २५ किलोमिटर सडकयात्रा गर्नुपर्ने हुन्छ । जुन सडकको पनौती–ढुर्खक करिब १३ किलोमिटर सडक ग्राभेल तथा पक्की छ भने त्यसपछि १२ किलोमिटर सडक उकाली–ओरालीमा गाडी तथा मोटरसाइकलमा यात्रा गर्न खासै कठिनाइ भने छैन ।

बेथानचोक गाउँपालिकाकै ढुुङ्खर्कदेखि तीनतले झरनासम्मको यात्रा थप रोचक बन्न सक्छ । किनभने हिमाली हावासँगै उत्तरतर्फ लहरमा मिलेर बसेका सेताम्मे हिमाल निकटबाट झैँ नियाल्दै गुवा भन्ज्याङबाट यात्रा सुरु गरेपछि रमणीय बस्ती र वनपाखाका घुमाउरो सडकले थप मन रोमाञ्चित बनाउने छ । विशेषगरी लालीगुराँस फुल्ने मौसममा उक्त क्षेत्रले नयाँ यात्रुहरूलाई मोहनी नै लगाउने गर्छ ।

त्यसैगरी झरना पुग्ने अर्को सडक ललितपुर जिल्लाबाट पनि छ । ललितपुरको दक्षिणी क्षेत्र गोट्टीखेलबाट चन्दनपुर, कालेश्वर हुँदै करिब १० किलोमिटर ओरालो यात्रापछि च्याम्राङ्गबेँसी पुगिन्छ । यो मार्ग पनि चन्दनपुरसम्मको पक्की सडक तथा त्यसपछिको कच्ची भएपछि बाटो खासै कठिन भने छैन । त्यसैगरी हिउँदको समयमा पनि बागमती प्रदेशको राजधानी हेटौँडासम्म पुग्ने बेथानचोक–फापरबारी सडक पनि यही झरना नजिकबाटै पर्छ । 

पहाडी जङ्गल क्षेत्रको मुहान भएकाले पनि यस झरनामा हिउँदको समयमा पानीको मात्रा केही घटे पनि झरना नसुक्ने भएकाले हिउँदको समयमा पनि झरनाको अवलोकन गर्न र पोखरीमा नुहाउँदै मनोरञ्जन गर्नेहरूका लागि यो स्थल अन्त्यन्तै आकर्षक बन्दै गएको छ । पहाडी मनोरम दृश्यको साथमा झरनाको अवलोकन गर्दै स्वच्छ, सफा, कञ्चन र सङ्लो पानीले भरिएको पोखरीमा पौडीको मज्जा लिनेहरूको भीड नै झरनाको पहिचान बन्दै गएको छ ।
 
झरनास्थलमा थप पूर्वाधारको विकासका लागि बेथानचोक गाउँपालिकाले पर्यटकको सुरक्षा र आकर्षणका लागि २० लाख रुपैयाँको संरचना निर्माण गरेपछि केही सहजताको महसुस गरिएको छ ।