close

धरान : हिजो लाहुरेको सहर, आज फूलैफूलको सहर

धरान : हिजो लाहुरेको सहर, आज फूलैफूलको सहर

Trulli
ADVERTISEMENT

सुनसरी- केही वर्षअघिसम्म लाहुरेको सहर भनेर चिनिने धरान अहिले फूलैफूलको सहरकारुपमा परिचित छ । लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले सजाइएका छन् । 

धरानवासीको फूल र बिरुवाप्रतिको लगावका कारण कसैले यसलाई बगैँचाको सहर पनि भन्ने गरेका छन् । धरानमा घरसँगै अलिकति खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलनै छ । अहिले त सडकको छेउछाउ र खोलाको किनारमा पनि फूल रोप्ने अभियान नै सञ्चालन भइरहेको छ । धरानका नगर प्रमुख हर्कराज साम्पाङले सञ्चालन गरेको श्रमदान अभियानमार्फत सर्दु खोलाको बगर र डाँडाकाँडामा हजारौँ बोटबिरुवा रोपिएका छन् । 

धरानमा त्यस्ता घर छैनन्, जहाँ कुनै फूल वा बिरुवा नहोस् । यहाँका सुकुम्बासी वस्तीदेखि लाहुरे बस्तीसम्म फूलैफूल भेटिन्छन् । फरक यति हो, आफ्नो क्षमताअनुसार कसैले दुई चारबोट रोपेका छन्, त कसैले बगैँचा नै बनाएका छन् । कतिपय त फूललाई सौखका रुपमा रोप्दारोप्दै व्यवसायी बनेर राम्रो आम्दानी पनि गरिरहेका छन् ।

सामाजिक अभियन्ताका रुपमा परिचित धरान उपमहानगरपालिका–११ की शिवमाया बान्तावाको घर फूल र बोट बिरुवाले ढाकिएको छ । कतै बगानबेली, कतै लालुपाते त कतै विभिन्न रङ्गीचङ्गी फूल रोपेकी शिवमायाले घरभित्र पनि उसैगरी इन्डोर प्लान्टले सजाएकी छन् ।  

शिवमायाले फूल र बिरुवालाई यति धेरै माया गर्नुको बेग्लै कथा छ । १७ वर्ष काम गरेको गोरखा सहकारीको जागिर चटक्क छाड्दा के गरौँ, कसो गरौँ भयो । डिप्रेसनमा जाने अवस्था भएपछि उहाँ आफ्नै घरमा फूल र बिरुवासँग रमाउन थालिन् । “फूलहरुको स्याहार गर्दागर्दै तिनीहरुको माया लाग्न थाल्यो । बजार जाँदा होस् या साथीको घर जाँदा फूल र बिरुवामै आँखा पर्न थाले”, उनी भन्छिन्, “फूलकै कारण डिप्रेसन हुन पाएन, उनीहरु मेरा साथी जस्ता भए । अहिले यिनीहरुसँग छुट्नै नसक्ने भएकी छु ।”

सुरुमा सोखका रुपमा फूल रोपेकी शिवमायाले मन परेका फूल र बिरुवा जम्मा गर्दागर्दै घर भरियो । बिरुवा बनाएर छिमेकी र चिनेजानेका धेरैलाई बाँड्नु पनि भयो । तर आफूले सित्तैमा बाँडेका फूलको स्याहार नभएको देखेर उनको मन दुख्यो । उनी भन्छिन्, ‘मैले बाँडेका फूल हेर्न जाँदा त कोही मरिसकेको, कोही त्यतिकै फ्याँकेको देखेँ । मान्छेले पैसा परेको चिजलाई मात्र महत्त्व दिँदा रहेछन् भन्ने सोच आयो । त्यसपछि सित्तैंमा बाँड्न छाडेँ । फूल माग्नेसँग पैसा लिन थालेँ ।’

फूल बेचेको पैसालाई उनले फूल र बिरुवामै लगानी गर्दै थालिन् । यसो गर्दागर्दै उनी फूलको सौखिनबाट व्यवसायी बनिन् । २०७२ सालबाट त उनले फूलसँगै ड्राइगन फ्रुटका बिरुवा बेच्न थालिन् । कोरोना महामारीपछिको बन्दाबन्दीका बेला मात्र आफूले १५ लाख रुपैयाँको बिरुवा बेचेको उनी बताउँछिन् । शिवमायाले पाँच वर्षयता त ‘फ्लावर जोन एन्ड पट हाउस’ नामको नर्सरी नै खोलेर फूलको व्यवसाय गरिरहेकी छन् ।  

धरान उपमहानगरपालिकाको लगानीमा भानुचोकदेखि छाताचोकसम्मको मुख्य सडकको दायाँबाँया फलामको रेलिङमा गमला राखेर फूल रोपिएका छन् । यसले पनि धरानको सुन्दरता बढाएको छ । धरानवासीको फूलसँगको सामिप्यताकै कारण धरानलाई फूलको सहर, बगैंचाको सहर भनेर समेत चिन्ने गरिन्छ । माथि विजयपुर डाँडाबाट हेर्दा धरान बगैंचाभित्र घरैघर भएको सहर जस्तो देखिन्छ ।
 
धरानबासीको फूलप्रतिको उत्साह देखेर धरान उपमहानगरपालिकाले एक दशकअघि नै धरानलाई फूलैफूलको सहर बनाउने अभियान चलाएको थियो । नागरिकलाई फूलप्रति आकर्षण मात्र होइन, व्यावसायिक पनि बनाउने उद्देश्यले उपमहानगरपालिकाको सहयोगमा छलफल, अन्तरक्रिया पनि चलाइएको थियो ।

उपमहानगरपालिकाका पूर्व सामाजिक विकास अधिकृत सुनिल नेपाल घरमा राम्रोसँग फुलको सजावट गर्नेलाई पुरस्कृत गर्ने गरिएपछि नागरिकले फूललाई अझ व्यवस्थित रुपमा रोप्न र व्यावसायिक बन्न थालेको उनको भनाइ छ ।

करोडौँको कारोबार
धरानमा व्यावसायिकरुपमा फूल र बिरुवा बेच्ने नर्सरी दुई दर्जन हाराहारी छन् । त्यसबाहेक अनलाईनमार्फत फुल बेच्नेहरुको सङ्ख्या पनि ठूलो छ । नर्सरीहरुको कारोबार मात्र हिसाब गर्दा पनि वार्षिक तीन करोड रुपैयाँभन्दा बढीको फूल बिक्री हुने गरेको व्यवसायीहरुको भनाइ छ । 

बुढासुब्बा नर्सरीका सञ्चालक प्रेमप्रसाद पराजुली पूर्वमा सबैभन्दा बढी धरानमै फूल विक्री हुने बताउछन् । उनी भन्छन्, “धरानका पाँच छ वटा नर्सरीले दिनमा ३० हजार हाराहारीको फूल बेच्छन्, अरुलेपनि दिनमा कम्तिमा रु पाँचदेखि आठ हजार रुपैयाँको बेच्छन् । घरघरबाटै र अनलाइनबाट बेच्नेको हिसाबै छैन ।”

धरानका क्यामेलिया, एञ्जिला, पवित्रजस्ता पुराना नर्सरीले फूलको राम्रो कारोबार गरिरहेका छन् । पवित्र नर्सरीकी सञ्चालिका प्रमिला राई १६ वर्षदेखि नर्सरीबाटै परिवार धानिरहेको बताउछिन् । धरानका नर्सरीहरु आफू मात्र आत्मनिर्भर छैनन, धेरैलाई रोजगारीसमेत दिएका छन् । कतिपयले आफ्नै परिवार मिलेर फूलको व्यवसाय सञ्चालन गरिरहेका छन् भने धेरैले पाँच सातदेखि २५ जनासम्मलाई रोजगारी पनि दिएका छन् ।