close

गल्याङका घरघरै पुगेर पशु उपचार

गल्याङका घरघरै पुगेर पशु उपचार

Trulli
ADVERTISEMENT

स्याङ्जा-  स्याङ्जाको गल्याङ नगरपालिकाले दुग्ध संकलन केन्द्र रहेका किसानको घरमै पुगेर पशुहरूको उपचार सुरु गरेको छ ।

गल्याङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा दुग्ध संकलन केन्द्रमै पुगेर किसानले पालिरहेका पशुहरूको परीक्षण थालिएको हो ।

विभिन्न १६ दुग्ध संकलन केन्द्रमा पशुहरूको परीक्षण गरिने गल्याङ नगरपालिकाले जानकारी दिएको छ । गल्याङ वडा–११ दिमिकमा स्थानीयलाई  प्राविधिक परामर्शसहित पशुको गोबर तथा अन्य समस्याबारे जानकारी दिइएको पशु शाखा प्रमुख सुशील अर्यालले बताए ।

‘दिमिक दुग्ध संकलन केन्द्रमा १ सयभन्दा बढी किसानका २ सय पशुको परीक्षण गरेका छौं’, अर्यालले भने । अन्य दुग्ध संकलन केन्द्रमा पनि नियमित रुपमा पशुहरूको परीक्षणको काम जारी रहने उनले बताए ।

गल्याङ नगरपालिकाका पशु चिकित्सक डा. अनिस सापकोटा, पशु प्राविधिकहरू डिल्लीराम अर्याल, शिव सुवेदीसहितका कर्मचारीहरू परीक्षणका क्रममा सहभागी भएका थिए । दूध उत्पादनमा लागेका किसानलाई थप सहयोग गरी प्रोत्साहन दिन टोलमै पुगेर पशु उपचारमा संलग्न भएको उनको भनाइ छ ।

गल्याङ नगरपालिकाले दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिएपछि यहाँका किसानले पशुपालनलाई अगाडि बढाएका छन् ।

व्यावसायिक रुपमा पशुपालन गर्नेहरू पनि बढेका छन् । तीन वर्ष अगाडि दूध तथा दुग्धजन्य पदार्थ आयात गर्नुपर्ने गल्याङमा हाल आन्तरिक खपत पूरा गरी दैनिक करिब ३ हजार लिटर दूध बाहिर  पठाइने गरिएको नगरपालिकाले जनाएको छ ।