close

सिद्धिचरणका किसानलाई ८ पकेटमा अनुदान 

सिद्धिचरणका किसानलाई ८ पकेटमा अनुदान 

Trulli
ADVERTISEMENT

ओखलढुंगा - सिद्धिचरण नगरपालिकाले व्यावसायिक कृषि उत्पादनका लागि पकेट क्षेत्रमा कृषकलाई अनुदान घोषणा गरेको छ । नगरपालिकाले कृषक समूह, कृषि फर्म, सहकारी तथा जल, वन समूह र उपभोक्ता समितिलाई अनुदान घोषणा गरेको हो । 


तरकारीजन्य नगदेबाली र माछापालनका विभिन्न ८ पकेट क्षेत्रमा कृषकलाई अनुदान दिन लागिएको नगरपालिकाको कृषि शाखाका प्राविधिक वीरेन्द्र तामाङले जानकारी दिए । ‘आवेदन माग गरेर तोकिएका मापदण्डअनुसार आएका निवेदनमाथि छानबिनको काम थालेका छौं’, उनले भने । 


प्रधानन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्रका लागि पकेट अनुदानको व्यवस्था गरिएको हो । आलु तथा तरकारीका २ पकेट, दलहन, मसला तथा फलफूल, मौरीपालन, विभिन्न ३ प्रकारका च्याउ उत्पादनका लागि फरक– फरक ३ पकेट तोकिएको छ ।


यस्तै, प्लास्टिक घरमा खेती तथा जलाशयमा माछा उत्पादनको पकेट तोकिएको छ ।  विभिन्न ८ पकेटमा कृषकले दिएका निवदेन अध्ययनपछि छनोट गरेर अनुदान दिने व्यवस्था गरिने तामाङले बताए ।

 

सिद्धिचरणले कृषि तथा पर्यटनलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ । कृषि उत्पादन र पर्यटनबाटै आर्थिक उन्नति गर्न सकिने भएकाले यो क्षेत्र प्राथमिकतामा परेको सिद्धिचरण नगरपालिकाकी उपप्रमुख इच्छाकुमारी गुरुङले बताइन् । 


‘छनोट भएका ८ पकेटमा प्रतिपकेट ३ लाखका दरले कृषकले अनुदान पाउनेछन् । पशु शाखाबाट समेत पशुपालनका लागि अनुदान दिँदै छौं’, नगर उपप्रमुख गुरुङले भनिन् । 


यसअघि साउनमा नगरपालिकाले फलफूल खेतीका लागि कृषक समूह तथा व्यावसायिक किसानलाई लिची, आँप तथा कागती र सुन्तलाका बिरुवा निःशुल्क उपलब्ध गराएको थियो ।