close

किसानलाई दूध उत्पादन बढाउने तालिम सिकाउँदै गल्याङ

किसानलाई दूध उत्पादन बढाउने तालिम सिकाउँदै गल्याङ

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिकाले स्वस्थ तथा सफा दूध उत्पादनका लागि किसानलाई अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।


गल्याङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा दूध उत्पादक अगुवा कृषकका लागि यस्तो तालिम दिइएको हो ।


कार्यक्रममा गल्याङ नगरप्रमुख भूपराज अधिकारीले दूध उत्पादनले मात्र नहुने हुँदा त्यसभित्रको पौष्टिक तत्त्वबाट नागरिकले कसरी फाइदा लिन सक्छन् भन्नेबारेमा किसानलाई सहजीकरण गर्न तालिम संचालन गरिएको जानकारी दिए ।


उनले भने, ‘बाटो खन्ने र आमा समूहको भवन बनाउने मात्र विकास होइन, स्वस्थ हुने कुरा नै विकास हो । यसका लागि गल्याङलाई सेतो नगर बनाउने अभियानमा छौँ ।’


नगरमा दैनिक १० हजार लिटर दूध उत्पादन गरी गल्याङबाहिर पठाउने तयारी भइरहेकाले यसमा किसानको साथ आवश्यक पर्नेमा उनले जोड दिए ।


नगरप्रमुख अधिकारीले भने, ‘पहिले दूध किनेर खानुपर्ने अवस्था रहेकामा अहिले दैनिक दुई हजार लिटर बाहिर पठाउन थालिएको छ । यसलाई अझै बढाउन जरुरी छ ।’


नगरप्रमुख अधिकारीले अहिले दूध उत्पादन बढ्दा ७०० जनाले प्रत्यक्ष रोजगार पाएको र अप्रत्यक्ष रूपमा त्यति नै संख्यामा रोजगारीमा रहेको दाबी गरे ।


‘१० हजार लिटर दूध उत्पादन भए त्यसबाट झन्डै चार हजार प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी र स्वरोजगारीमा संलग्न हुन सक्छन्’, नगरप्रमुख अधिकारीले भने ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले नगरपालिकाले सुरु गरेको कृषि र पशु कार्यक्रमबाट किसानले फाइदा लिन सक्नुपर्ने बताए ।


उनले भने, ‘नगरपालिकाले जे विषयमा जोड दिनुपर्ने थियो, त्यसमा दिएको रहेछ । विकासका लागि कृषि र पशुपालनमा विशेष अनुदान दिनुको विकल्प छैन’, उनले भने ।


गल्याङले दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था गर्नु प्रशंसनीय रहेको उनको भनाइ थियो ।


कार्यक्रममा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशील अर्यालले किसानलाई स्वस्थ र सफा दूध उत्पादनमा जोड दिने विधि सिकाउन अभिमुखीकरण संचालन गरिएको जानकारी दिए ।


कार्यक्रमको सहजीकरण गरिरहेको संस्था श्रीनगर एग्रिटेक इन्डस्ट्री सुनौलो दानाका डा. विनोद गुप्ताले गल्याङले संचालन गरिरहेको कृषि र पशु कार्यक्रम उत्साहप्रद रहेको बताए ।