close

गाउँपालिकाले आँधीखोलामा छाड्यो ५२ हजार माछाका भुरा

गाउँपालिकाले आँधीखोलामा छाड्यो ५२ हजार माछाका भुरा

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा ५२ हजार माछाका भुरा छाडेको छ । गाउँपालिकाले स्याङ्जास्थित कालीगण्डकी माछा प्रजनन् केन्द्रबाट १४ पोका भुरा ल्याएर आँधीखोलाका विभिन्न सात ठाउँमा छाडेको हो ।


माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ ।

 
आयातीत माछाका प्रजातिका कारण परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए ।


‘नदी, ताल र तलाउको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्त्वपूर्ण हुन्छ । जैविक विविधता नभएका नदी तथा तालको कुनै महत्त्व हुँदैन’, उनले भने ।


खोलामा साना भुरा छाड्दा बकुल्लालगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढी भएकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छाडिएको कृषि प्राविधिक विवेक आचार्यले बताए । ठेडे, हाँडे र गर्दी जातका माछाका भुरा जलाशयमा ल्याएर आँधीखोलामा छाडिएको उनले जानकारी दिए ।