close

किसानका समस्या बुझ्न खेतबारी डुल्दै कृषिमन्त्री

किसानका समस्या बुझ्न खेतबारी डुल्दै कृषिमन्त्री

Trulli
ADVERTISEMENT

दैलेख - कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले किसानकै बारीमा पुगेर किसानका समस्याहरू बुझेकी छन् ।


कृषि, पशुपालनका लागि किसानहरूका समस्याहरू बुझ्दै दैलेखकाे नारायण नगरपालिका वडा नं.- ३ मा रहेका किसान ताराकेशर जैसीको बाख्रा पालन, कुखुरा पालन, घाँस खेतीको मन्त्री केसीले अवलोकन गरेकी हुन् । वडा नं.- ३ का अन्य तीन जना किसानको बारीमै पुगेर समस्याको जानकारी लिएकी मन्त्री केसीले वडा नं.- ११ मा किसानका फर्महरूको अवलोकनसमेत गरेकी छन् । 


दैलेखमा रहेका सहकारीका सदस्यहरूलाई दिइएको लेखा व्यवस्थापन तालिमको उद्घाटन गर्दै मन्त्री केसीले साना किसानहरूका लागि पनि गाउँमै कर्णाली प्रदेश सरकार पुग्ने तयारी थालेको बताइन् ।


रोजगारीका लागि युवाहरू विदेश पलायन हुँदै गएका बेला गाउँमै केही गर्न सक्ने र युवाहरूलाई यहीँ रोक्न कर्णाली प्रदेश लागिपरेको केसीको भनाइ थियो । किसानहरूको मिहिनेतलाई खेर जान नदिन कर्णाली प्रदेश सरकारले कृषिमा करोडौँ रुपैयाँ अनुदान दिँदै आएकाले कोही पनि युवा विदेश जानु नपर्ने बताउँदै युवाहरूलाई कृषि क्रान्ति गर्नसमेत उनले आग्रह गरिन् ।


किसानहरूलाई ब्याज अनुदान


गाउँमै केही गर्न जोस, जाँगर भएका तर न्यून आए भएका, जग्गा, जमिन धितो राख्न नसक्ने गरिब र विपन्न किसानहरूका लागि पनि कर्णाली प्रदेश सरकारले सहकारीमार्फत ब्याज अनुदान दिन लागेको मन्त्री केसीले बताइन् ।


व्याज अनुदानले साना किसानहरूलाई कृषि पेसामा लाग्न प्रोत्साहन गर्ने र उनीहरूको आर्थिक अवस्थामा सुधार आउने मन्त्री केसीको धारणा थियो । 


ठूला फार्म गर्ने इच्छा भएका युवा किसानहरूले आफूले गरेको फार्म र आफूसँग भएको जमिन धितोमा राखेर करोडौँ रुपैयाँ व्याज अनुदान लिन सक्ने कार्यक्रम कर्णाली प्रदेश सरकारले संचालन गरिसकेकाले किसानहरूलाई लाभ लिन मन्त्री केसीले आग्रह गरेकी छन् ।


पहुँच र शक्तिका भरमा किसानहरूले कृषिमा अनुदान पाउने तर सोझा कृषि गरिरहेकाले राज्यबाट दिने कृषिमा अनुदान पाउन नसकेको गुनासो किसानहरूले गरेका छन् ।


किसानहरूका गुनासालाई सम्बोधन गर्दै कृषिमन्त्री केसीले अब त्यस्तो हुन नदिन आफैँ किसानको घरमा होइन, बारीमै पुगेर अवलोकन गर्ने र मात्र अनुदान दिइने बताइन् । 


किसानहरूले गरेको मिहिनेतलाई प्रदेश सरकारले खेर जान नदिने र थप ऊर्जा प्रदान गरेर व्यावसायिक किसान बनाउने सरकारको तयारी भएको मन्त्री केसीले जानकारी दिइन् ।