close

किसानका दुःख : मिहिनेत गरेर फलायो, कुहाएर फाल्यो 

किसानका दुःख : मिहिनेत गरेर फलायो, कुहाएर फाल्यो 

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको पुतलीबजार नगरपालिका वडा- ११ र १२ का सिताके च्याउ कृषक उत्पादनले बजार नपाएपछि चिन्तित भएका छन् । कृषि ज्ञान केन्द्र स्याङ्जाले पुतलीबजार नगरपालिका वडा- ११ र १२ मा स्थापना गरेको पकेट क्षेत्रको च्याउ बिक्री नहुँदा सिताके च्याउ कृषकको उत्पादन खेर गएको हो । 


‘फलाएको च्याउले स्थानीय बजार नपाउँदा स्याङ्जा बजार, पोखरा र बुटवलसम्म धाउनु परेको छ । यहाँसम्म ल्याई पुर्‍याए पनि उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ’, पुतलीबजार नगरपालिका वडा- ११ का सिताके च्याउका कृषक शिवप्रसाद लामिछानेले गुनासो गरे । 


पुतलीबजार नगरपालिका वडा- ११ र १२ का ६६ घरधुरीले सामुदायिक तथा व्यक्तिगत रूपमा सिताके च्याउ खेती गर्दै आएका छन् । ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा उनीहरूले सिताके च्याउको पकेट क्षेत्र सञ्चालन गरेका हुन् । 


ज्ञान केन्द्रमार्फत आउनुपर्ने कार्यक्रम सरकारले पालिकाहरूलाई सिधै दिएकाले पकेट क्षेत्रका कार्यक्रम व्यवस्थित हुन नसकेको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताए । उनले भने, ‘पकेट क्षेत्रबाट उत्पादन भएको वस्तु व्यवस्थापन गर्ने सोच भए पनि बजेट अभाव छ ।’ 

 

पकेट क्षेत्रबाट दैनिकजसो करिब १ सय ५० किलो च्याउ उत्पादन हुँदै आएको पुतलीबजार वडा- ११ का कृषक राजन लामिछानेले जानकारी दिए ।बजार नपाए पनि ड्राई गर्ने प्रविधि नहँुदा च्याउ कुहिएर जाने वा निःशुल्क वितरण गर्नु परेको गुनासो उनको छ । 

 

पकेट क्षेत्रमा ५० प्रतिशत अनुदान दिएको ज्ञान केन्द्रको १६ लाख र स्थानीयको १६ लाख गरी ३२ लाख रुपैयाँ लगानी भएको छ । च्याउको पकेट क्षेत्र रहेकामा ३ समूह र अन्य घरमा करिब १२ हजार मुडामा च्याउ लगाइएको छ ।