close

आँधीखोलाले दियो कृषकलाई हाते ट्र्याक्टर (भिडियो खबर)

आँधीखोलाले दियो कृषकलाई हाते ट्र्याक्टर (भिडियो खबर)

ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिकाभित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्र्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेसाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ ।


किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्र्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए । ‘गाउँमा गोरु पाल्ने चलन हराइसक्यो । काम गर्ने मान्छे पनि छैनन्’, उनले भने, ‘कृषि सरल र सहज बनाउन किसानलाई ट्र्याक्टर दिएका हौँ ।’ 


कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको अध्यक्ष पौडेलले बताए ।


उपाध्यक्ष शर्मिलादेवी पौडेलले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकाले विदेशिएका युवाहरूलाई स्वदेश फर्कन आग्रह गरिन् । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति र कार्यक्रम बनाई काम गरिरहेको उनको भनाइ छ । 


युवाहरू विदेशतर्फ पलायन भएसँगै गोरु पाल्ने तथा खेती गर्ने कार्यमा कमी आएको तथा भौगोलिक रूपमा विकट यस क्षेत्रमा हाते ट्र्याक्टर वितरण कार्यक्रमले कृषि उत्पादनमा ठूलो सघाउ पुग्ने भन्दै यस कार्यक्रमले आफूहरू कृषि खेती कार्य गर्न अझै उत्साहित भएको कृषकहरूले बताएका छन् ।

 

दिनभर लगाएर गोरुको सहायतामा खेतबारी जोत्नुपरेकामा अबका दिनमा भने एक-दुई घण्टामा आफ्नो खेतबारी जोत्न सकिने बताउँदै गाउँपालिकाले किसानको हितमा काम गरेको कृषक तोयानाथ पौडेलले बताए ।


पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट कृषि र पशु पालनलाई पहिलो प्राथमिकतामा राखेकाले युवाहरूलाई कृषि पेसामा लाग्न आग्रह गरे ।


प्रतिट्र्याक्टर कुल ५५ हजारमध्ये किसानले २७ हजार ५०० रुपैयाँमा ट्र्याक्टर प्राप्त गरेका हुन् । किसानहरूको अत्यधिक माग भएकाले गाउँपालिकाले बजेट थप गरी दोस्रो चरणमा थप २५ जना किसानलाई ट्र्याक्टर वितरण गरिने पालिकाले जनाएको छ ।