close

गल्याङका डाँडैभरि अदुवा खेती

गल्याङका डाँडैभरि अदुवा खेती

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ थुमका किसानले थुमकोडाँडामा अदुवा खेती गरेर आम्दानी लिन थालेका छन् । स्थानीय अग्निप्रसाद न्यौपानेसहितका किसानले समुद्री सतहदेखि १ हजार ४ सय ५५ मिटर उचाइको थुमकोडाँडामा अदुवा खेती गरेका हुन् ।

 

भट्टराईले २०७२ सालदेखि व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका छन् । गत वर्ष ५ रोपनीमा झन्डै ५० क्विन्टल उत्पादन भएपछि भट्टराईलाई अरू हौसला थपियो र अहिले १० रोपनीमा अदुवा लगाएका छन् । 


१० रोपनीमा १२ क्विन्टल बिउ लगाएका भट्टराईले यो वर्ष १ सय क्विन्टलसम्म उत्पादन गर्ने लक्ष्य राखेको सुनाए । ‘रैथाने बाली कोदो र मकैको तुलनामा अदुवामा कम परिश्रम, उत्पादन लागत पनि थोरै हुन्छ । यसका साथै बाँदर, दुम्सी, खरायो, मृग, मुसालगायत वन्यजन्तुले पनि नखाने, सजिलो र फाइदाजनक भएकाले अदुवा खेती सुरु गरेको हुँ’, भट्टराईले भने ।

 

उनले बेमौसमी तरकारी पनि उत्तिकै उत्पादन गर्छन् भने सँगै बाख्रापालनलाई पनि जोडेका छन् । ‘हामी कृषिप्रधान देशका नागरिक हौँ । कृषि गर्नुपर्छ, यसैमा सुरक्षित भविष्य छ’, भट्टराईले भने, ‘त्यसैले अरूलाई पनि कृषि पेसा गर्न सुझाएको छु ।’ 


भट्टराईको सिको गरेरै छिमेकी अमृता न्यौपानेले ७ रोपनीमा अदुवा लगाएकी छन् । गत वर्ष १ रोपनीमा अदुवा लगाएकी अमृताले १ लाख रुपैयाँको बिक्री गरेको र अहिले ७ रोपनीमा लगाएको बताइन् । बाहिरबाट माग धेरै आए पनि नगरपालिकाको आग्रहमा उत्पादित अदुवा बिउका लागि राखिएको उनले सुनाइन् ।

 

नगरपालिकाले वडा नम्बर १ बल्पुकमा अदुवा प्रशोधन केन्द्र स्थापनाको तयारी गरेसँगै बिक्री गर्न कुनै समस्या नहुने भएकाले किसान थप उत्साही छन् । यहाँको अदुवा बिउ अर्घाखाँची, पर्वतलगायत जिल्लाबाट ठूलो माग आउने गरेको भट्टराईले बताए ।

 

प्लास्टिक पोखरीमा अकासे पानी संकलन गरेर सिँचाइ व्यवस्थापन गरिएको थुमको डाँडामा अदुवा बालीका साथै बेमौसमी तरकारी पनि उत्पादन हुने गरेको छ ।

 

पहिलो अदुवाको उत्पादन लिने तयारीमा रहेकी स्थानीय टीका न्यौपानेले यो वर्षदेखि झन्डै ३ रोपनीमा लगाएकी छन् । एकल महिला न्यौपानेलाई पनि गरे हुँदो रहेछ भन्ने लाग्यो । ‘अरू बालीभन्दा सजिलो र उत्पादन राम्रो हुने रहेछ । त्यसैले अदुवा खेतीमा लागेकी हुँ’, उनले भनिन् ।