close

नगरपालिकाको पहलमा कृषि उपज बिक्री केन्द्र (भिडियाे खबर)

नगरपालिकाको पहलमा कृषि उपज बिक्री केन्द्र (भिडियाे खबर)

ADVERTISEMENT

रामेछाप- उत्पादन गरेका कृषिजन्य वस्तुले सहज रूपमा बजार नपाउँदा कतिपय किसानले आफ्ना उत्पादन नष्ट गर्नुपर्ने बाध्यता अझै छ । गाउँघरमा उत्पादित अर्गानिक र ताजा कृषिजन्य वस्तु सहज रुपमा बजारसम्म आउन नसक्दा किसानलाई मात्र नभई उपभोक्तालाई पनि समस्या पर्ने गरेको छ । 

 

यसरी किसान र उपभोक्ताले भोग्नु परेको बाध्यतालाई हटाउन रामेछापको मन्थली नगरपालिका र पौरखी युवा कृषि सहकारीले संयुक्त रूपमा कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना गरेर किसान र उपभोक्तालाई सहयोग पुर्‍याउने योजना अगाडि बढाएका छन् । 


रामेछापको मन्थली नगरपालिकामा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु सहज रूपमा बिक्री गर्न र उपभोक्तालाई ताजा तरकारी सुलभ मूल्यमा उपलब्ध गराउन नगरपालिका र पौरखी युवा कृषि सहकारीले कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना गरेका छन् । 

 

मन्थली नगरपालिकाले फलफूल तथा तरकारी मूल्य-शृंखला विकास परियोजनामार्फत ६ लाख ५० हजार रुपैयाँ सहयोग गरेपछि पौरखी युवा कृषि सहकारी संस्थाले कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो । सदरमुकामसमेत रहेको मन्थली नगरपालिका वडा नम्बर १ मा थोक बिक्री केन्द्रको रूपमा रहने गरी स्थापना गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहयोग पुग्ने नगरप्रमुख रमेशकुमार बस्नेतले बताए ।


उत्पादित वस्तुको बिक्री वितरण गर्न नपाउँदा किसान निरास भएर कृषि पेसाबाटै पलायन हुने सम्भावना बढ्दै जाँदा कृषि उपज संकलन तथा बिक्री केन्द्र सुरु गरिएको पौरखी युवा कृषि सहकारीका अध्यक्ष सुन्दर घिमिरेले जानकारी दिए ।


महिनौँको दुःखले उत्पादन गरेको कृषिजन्य वस्तु कृषि उपज संकलन तथा बिक्री केन्द्रले सहजै किनिदिएपछि किसानलाई राहत मिलेको छ । अर्गानिक कृषि उपज एवं तरकारी सस्तो मूल्यमा एकै ठाउँ पाउँदा सहज भएको उपभोक्ता अञ्जु अधिकारी र सुस्मिता अधिकारी बताउँछन् ।


मन्थली नगरपालिकाको आर्थिक सहयोगमा पौरखी युवा कृषि सहकारीले सञ्चालनमा ल्याएको कृषि उपज संकलन तथा बिक्री केन्द्रमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु नियमित ल्याउन र उपभोक्ताले पनि नियमित खरिद गरेर कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई दिगो बनाउन जरुरी छ ।