मोरङ- कोरोनाको प्रभावका कारण लकडाउन भएपछि वैदेशिक रोजगारीमा गएका धेरै युवाहरू नेपालमै बसेर बाँझा खेतबारीलाई उर्बर बनाउँछन् भन्ने धेरैको आश थियो । वैदेशिक रोजगारीमा गएका युवाहरू फर्के पनि पछिल्लो पुनः उही मुलुक जानेको ताँती रोकिएको छैन ।
तर, तिनै युवाहरूका लागि पूर्व पश्चिम राजमार्गमा मकै पोलेर राम्रो आम्दानी गर्नेहरू उदाहरणीय बनेका छन् । फागुनको उखरमाउलो गर्मीमा मोरङको बेलबारी तथा कानेपोखरी सडक खण्डमा मकै पोलेर राम्रो आम्दानी गरिरहेका छन् ।
आफ्नै माटोमा परिश्रम गरेर उनीहरूले वैदेशिक रोजगारीमा जाने युवालाई चुनौती दिइरहेका छन् । आफ्नो पसिना बगाएर उत्पादन गरेका मकै बाहिरका व्यापारीलाई बोलाएर बेच्दा राम्रो मूल्य नपाएपछि आफैं पोलेर बेच्न थालेको पुण्यप्रसाद ढुंगानाले बताए ।
उनले आफ्ना बारीमा उत्पादन गरेको मात्र नभई ठेक्का लिएरसमेत मकै पोलेर बेच्ने गरेका छन् ।
लकडाउन फुकुवालगत्तै मकै पोल्न सुरु गरेका उनीहरूको व्यवसाय दिनप्रतिदिन बढिरहेको छ । मकै खाने ग्राहक बढ्दै जान थालेपछि उनीहरू हौसिएका छन् ।
२० जना बढीले अहिले त्यो पेसा अपनाएका छन् । १ जनाले दैनिक २ सय ५० देखि ३ सय घोगासम्म मकै बिक्री गर्छन् । ‘पोलेर अढाई सयसम्म घोगा बेच्छु,’ कमला ढुंगानाले भनिन्, ‘काँचै ५० बढी घोगा बिक्री हुने गरेको छ ।’
दैनिक ज्याला मजदुरी गरेर मात्रै आफ्नो परिवार पाल्नेका लागि पछिल्लो समय यो व्यवसाय घरको गर्जो टार्ने माध्यम बनेको छ । यहाँ मकैको मात्रै व्यापार नभई आफैंले उत्पादन गरेका सागसब्जीसमेत किसानले ल्याएर बेच्ने गरेका छन् ।
रायो साग, पालुंगो, लट्टे, लौका, निगुरोलगायत तरकारीको व्यापार हुने गरेको छ । ‘मकैकै मात्रै व्यापार हुँदैन । आफूलाई चाहिनेभन्दा धेरै भए यही ल्याएर बेच्ने गर्छौं’, कानेपोखरीकी अञ्जना बस्नतेले भनिन् ।
किसान आफैँले उत्पादन गरेर मकै पोलेर बेच्ने गरेका छन् । प्रतिघोगा १५ देखि ३५ रुपैयाँसम्ममा उनीहरूले बेच्ने गरेका छन् । १० देखि १२ रुपैयाँसम्म आफ्नोमा सकिँदा खरिद गरेर ल्याउने गर्छन् ।
मकै खानेलाई नुन, खुर्सानीको अचारसमेत उनीहरूले दिने गरेका छन् । अर्गानिक खाजाका रूपमा मकैलाई लिने गरिन्छ । मकै खानकै लागि दमक, धरान, विराटनगरबाट समेत आउने गरेका छन् ।
मकैको व्यापार फस्टाउँदै गएपछि केही युवासमेत यो पेसामा आबद्ध हुन थालेका छन् । कृषिप्रधान देश नारामै सीमित बनिरहेका बेला कृषकले बिचौलियालाई नदिई राम्रो आम्दानी गरिरहेका छन् ।
यसअघि धरान, विराटनगर, काठमाडाैंलगायत बजारमा मकै बिक्री गर्दै आएका किसानले आफैं पोल्न थालेपछि राम्रो आम्दानी लिन सकेका हुन् । उनीहरूले मकै बजारसम्म पुर्याउन बिचौलिया प्रयोग गर्नुपरेका कारण सस्तो मूल्यमा बिक्री हुने गरेको थियो ।