close

रैथाने बाली जोगाउँदै कर्णालीका स्थानीय सरकार

रैथाने बाली जोगाउँदै कर्णालीका स्थानीय सरकार

Trulli
ADVERTISEMENT

मुगु– कर्णालीका हिमाली जिल्लामा उत्पादन हुने स्थानीय रैथाने बालीलाई संर्वद्धन र प्रवद्र्धन गर्न स्थानीय सरकारले चासो देखाएका छन् ।कर्णालीका ग्रामीण क्षेत्रमा उत्पादित रैथाने बाली पछिल्लो समय लोप हुँदै गएपछि यसलाई जोगाउन स्थानीय सरकारले पहल गरेका हुन् ।

 

रैथाने अन्नबाली पछिल्लो समय लोप हुँदै जान थालेपछि स्थानीय सरकार र सरोकारवाला संरक्षण अभियानमा जुटेका छन् ।     

 

जिल्ला कृषि विकास कार्यालय मुगुको आयोजनामा जिल्लामा क्रियाशील सरोकारवालाबीचको अभिमुखीकरण कार्यक्रममा रैथाने बाली संरक्षणमा जोड दिइएको हो ।

 

मुगुमा लोप हुन लागेका रैथाने बालीलाई प्रवद्र्घन गर्न स्थानीय सरकारले चासो दिनुपर्ने सरोकारवालाले बताए । पुर्खादेखि मुगुलगायत कर्णाली प्रदेशका अन्य जिल्लामा पाइने मार्सी चामल, मार्से, कागुनो, चिनो, फापर, उबा, कोदो उत्पादनमा पछिल्लो समय कृषकले चासो दिन छाडेका छन् । बाहिरबाट आउने चामल, आँटा मैदाले पुख्र्यौली रैथाने अन्नबाली विस्थापित हुन थालेको छ ।

 

सडक, हवाई मार्ग र रारा तालसँग जोडिएको छायानाथ रारा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएकाले पाहुनालाई कोसेलीको रूपमा दिन पनि रैथाने बालीलाई संरक्षण गर्न अपरिहार्य भएको नगरप्रमुख हरिजंग शाहीले बताए । 

 

‘कर्णालीका रैथाने बालीलाई पर्यटनसँग जोडेर लैजान सकिए नगरपालिकाको मात्र नभई मुगुकै समृद्धिमा टेवा पुग्न सक्छ’, नगरप्रमुख शाहीले भने ।

 

पुख्र्यौली रैथाने अन्नबालीको महत्त्व र उपयोगिता स्थानीयलाई बुझाएर उत्पादन बढाउन लाग्नुपर्ने जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख कमल सुनारले बताए ।  


त्यसका लागि कृषकलाई तालिम गोष्ठी, अनुदानमा कृषि औजार वितरणजस्ता सहयोग दिन सकिए रैथाने बाली उत्पादनमा सहयोग पुग्ने उनको सुझाव छ ।