close

किसानका दुःख: सरकारले दिएको बिउ नै फलेन 

किसानका दुःख: सरकारले दिएको बिउ नै फलेन 

Trulli
ADVERTISEMENT

मोरङ– नेपाललाई कृषिप्रधान मुलुक भनिनेर चिनिन्छ । राज्यबाट कृषिमा फड्को मार्ने खाले कार्यक्रम नआए पनि कृषकले आफ्नै बलबुँतामा कृषिलाई धानिरहेका छन् । 

 

कृषिमा आत्मनिर्भर हुने कृषकले पछिल्लो केही वर्षयता कृषिका नाममा उपकरण तथा बिउबिजन भने पाउन थालेका छन् । तर, उन्नत जातको बिउबिजन नपाउँदा कृषले लगाएको बाली नफस्टाउने गरेका छन् ।

 

यस्तै भएको छ, मोरङको सुन्दरहरैचाका कृषकलाई । कृषि प्राविधिकले सिफारिस गरेको बिउ नै कृषकको बारीमा फलेको छैन । कृषि अनुसन्धान परिषद् तरहराबाट ल्याइएको गहुँको बिउमा दाना नलागेको हो ।

 

दाना नलागेका कारण कृषक मारमा परेका छन् । नगरपालिकाले ६ हजार किलोग्राम गहुँको बिउ अनुसन्धान केन्द्रबाट ल्याएर कृषकलाई ५० प्रतिशत अनुदानमा दिएको थियो ।

 

४ जातको गहुँ बिउमध्ये तिलोत्तमा जातको गहुँको बिउमा दाना नलागेका कारण कृषक मर्कामा परेका छन् । ‘बोट हेर्दा राम्रो छ तर दाना भने एउटै पनि छैन’, सुन्दरहरैचाका कृषक उमनाथ निरौलाले भने, ‘लगानी नै नउठ्ने भयो ।’ 

 

तिलोत्तमा जातको १ हजार किलो बिउ वितरण गरिएको थियो । १ हजार किलो गहँुको बिउ साढे १२ बिघामा लगाउन मिल्छ । गहुँको बोट राम्रो देखिए पनि दाना लागेको छैन । कृषि क्षेत्रका विज्ञले नै सिफारिस गरेको बिउ नफल्दा कृषक चिन्तित छन् । ‘हामीले घरमै उत्पादन गरेको बिउ लगाउँदा बारी नै हराभरा हुने गरी फल्थ्यो तर सरकारले विज्ञ भनेकाहरूबाट बिउ ल्याउँदा फलेन,’ कृषक दीपा कार्कीको गुनासो छ । 

 

समयमा मल, बिउ अभाव खेपेका कृषकले राज्यबाट अनुदानमा पाएको बिउबाट आम्दानी लिन नसकेपछि राज्यबाट क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । तर, अहिलेसम्म राज्यले सिफारिस गरेको बिउ रोपेर फल पाउन नसकेका किसानको माग सम्बोधन हुन सकेको छैन । कसले क्षतिपूर्ति दिने भन्ने अन्योल छ ।

 

एउटा सरकारी कार्यालयले अर्को सरकारी कार्यालयबाट बिउ ल्याएर दिए पनि त्यसको क्षतिपूर्ति कसले दिने भन्ने अन्योल छ । ‘विज्ञहरूको सिफारिसमा कृषकलाई बिउ ल्याएर दिएका थियौँ’, सुन्दरहरैचा नगरपालिकाका कृषि शाखाप्रमुख फणीन्द्र भट्टराईले भने, ‘अहिले हामी आफैं अन्योलमा परिरहेका छौँ । केही वर्षदेखि अनुसन्धान केन्द्रले दिने गरेको बिउमै समस्या देखिन थालेको छ ।’ 

 

नार्कका कर्मचारी भने बोरन तत्त्वको कमी भएको भनेर तर्किने गरेको कृषकको गुनासो छ । पछिल्लो समय कृषि अनुसन्धान केन्द्रले दिने गरेको बिउबिजनमा पनि समस्या देखिँदै आएको उनीहरू बताउँछन् । मूल बिउ भनेर कृषकलाई दिने गरेको बिउमै फल नलागेपछि नार्कका वैज्ञानिकप्रति प्रश्न उठ्न थालेको छ ।