close

बैमौसमी तरकारी फलाउँदै शिवराज

बैमौसमी तरकारी फलाउँदै शिवराज

Trulli
ADVERTISEMENT

दीपक खड्का
कपिलवस्तु/शिवराज- कपिलवस्तुको शिवराज नगरपालिकाले बेमौसमी तरकारी उत्पादनका लागि १० वटा पोलीहाउस निर्माण गरेको छ । 

 

नगरपालिकाले पालिकाभित्रका १० जना कृषकलाई पोलीहाउस टनेल निर्माणका लागि २५ लाख रुपैयाँ अनुदान दिएको कृषि शाखा प्रमुख ताराचन्द्र चौधरीले बताए ।

 

प्लास्टिक टनेल हाउस व्यावसायिक बेमौसमी तरकारी खेतीका लागि इच्छुक कृषकलाई निवेदनमार्फत छनोट गरिएको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए । कृषि क्षेत्रमा आधुनिकीकरण गर्न प्लास्टिक टनेल घरबाट खुला ठाउँमा भन्दा बढी उत्पादन लिन सकिने भएकाले कृषकले यसबाट फाइदा लिन सक्ने अधिकारीको दाबी छ ।

 

‘आर्थिक समृद्धिका लागि नगरपालिकाले युवा लक्षित स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ,’ उनले भने, ‘यअन्तर्गत हामीले युवालाई कृषिसम्बन्धी तालिम, अनुदानमार्फत कृषि उपकरण वितरण गरिरहेका छौँ,’ नगरप्रमुख अधिकारीले भने ।

 

शिवराजमा ७३ प्रतिशत किसान कृषिमा लागेकाले कृषि क्षेत्रको विकास गर्न नगरपालिका लागिपरेको उनको भनाइ छ । कृषि शाखा प्रमुख ताराचन्द्र चौधरीले थोरै क्षेत्रफलबाट बढी उत्पादन लिन पोलीहाउस वितरण गरिएको जानकारीदिए ।

 

१२ मिटर चौडाइ र १८ मिटर लम्बाइका पोलीहाउस नगरपालिकाको ७५ प्रतिशत लगानी र कृषकको २५ प्रतिशतमा निर्माण गरिएको उनले जानकारी दिए ।

 

प्लास्टिकबाट टनेल निर्माण गरेर बढी फाइदा लिन सकिने नगरपालिका वडा नम्बर ३ का किसान सुदर्शन मल्लले बताए । नगरपालिकाबाट टनेल निर्माण गर्न ३ लाख ६२ हजार रुपैयाँ बराबरको अनुदान पाएको उनको भनाइ छ ।

 

नगरपालिकाको वडा नम्बर ५ का शाहउ चौधरीले पहिलो पटक टनेलमा खेती गर्ने तयारी सुरु गरेको जानकारी दिए । टनेलको मुख्य फाइदा भनेकै बेमौसमी उत्पादन गर्न सके राम्रो मूल्य पाउन सकिने भएको हुँदा यसमा सबैको आकर्षण रहेको उनले बताए ।