close

चौघरेका किसानले पाए अनुदानमा कृषि सामग्री

चौघरेका किसानले पाए अनुदानमा कृषि सामग्री

Trulli
ADVERTISEMENT

ललितपुर- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भक्तपुर इकाइ कार्यालयबाट ५० प्रतिशत अनुदानमा प्राप्त आधुनिक कृषि सामग्री तथा तरकारीको बिउ कोञ्ज्योसोम गाउँपालिकाको वडा नम्बर १ चौघरेका २ सय बढी किसानलाई वितरण गरिएको छ । 

 

चापागाउँमा अवस्थित उज्यालो किरण साना किसान कृषि सहकारीसँगको समन्वयमा चौघरेमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपीलाल सिंतान, उपप्रमुख मिङ्मा लामा, परियोजनाका भक्तपुर इकाइ प्रमुख टीकाराम शर्मा, सहकारी संस्थाका प्रमुख बद्रीप्रसाद घिमिरे, वडाध्यक्ष सन्तलाल लामालगायतको उपस्थितिमा २ सय किसानलाई फर्सी, काँक्रो, काउली, बन्दा गोलभेडालगायत तरकारीको बिउ वितरण गरिएको छ ।

 

यस्तै, हजार लिटरका ड्रम २० जनालाई, डिजिटल काँटा, घाँस कुड्क्याउने चेपकटर १० जनालाई, ७ हर्ष पावरको ट्रयाक्टर २ जनालाई वितरण गरिएको छ । किसानको मागअनुसार नै सहकारी संस्थाको सिफारिस र निवेदनका आधारमा यी सामग्री उपलब्ध गराइएको हो ।

 

कृषि सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष सिंतानले बिउबिजन र आधुनिक कृषि सामग्री प्राप्त गरेपछि किसानको व्यवसायमा विस्तार र जीवनस्तरमा सुधार आउने अपेक्षा गरे । शिक्षा र विकासको दृष्टिकोणबाट पछाडि परेको चौघरेमा यस्ता किसिमका अनुदानका कार्यक्रम र आधुनिक कृषि सामग्री वितरणले परिवर्तनमा सहयोग पुग्ने सिंतानको भनाइ थियो ।


उनले गाउँपालिकामा स्थानीय सरकार आएपछि यथेष्ट सडक सञ्जाल निर्माण भएकाले अब नयाँ सडक आवश्यक नपर्ने हुँदा अबका योजना कृषि व्यवसायकै विकास, विस्तार र आधुनिकीकरणमा केन्द्रित हुने जानकारी दिए । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको भक्तपुर इकाइ कार्यालय प्रमुख टीकाराम शर्माले परियोजनाको जोन कार्यक्रमले किसानलाई तरकारीको नर्सरीमा बेर्ना उत्पादनदेखि लिएर त्यसको बजारीकरणसम्ममा सहयोग गर्ने बताए । कृषि उपज र तरकारी उत्पादनपछि संकलन केन्द्र निर्माण गराउन सहयोग गरिने एवं त्यसका लागि सहकारी संस्थासँगकै समन्वय र सहकार्यमा काम गरिने शर्माले जानकारी दिए ।

 

परियोजनाले हाल भक्तपुरको चाँगुनारायण नगरपालिका र काठमाडौंको शंकरापुर नगरपालिकालाई आलु जोन तथा ललितपुरको गोदावरी नगरपालिकाका वडा नम्बर ३, ५, ६, ७, ८, ९, १२, कोञ्ज्योसोमका वडा नम्बर १, २, ३ र बागमती गाउँपालिकाको वडा नम्बर १ र २ लाई तरकारी जोनको रूपमा घोषणा गरी अगाडि बढाएको छ । 

 

चौघरेका वडाध्यक्ष सन्तलाल लामाले कृषि सामग्रीमा अनुदानजस्ता कार्यक्रमले कृषि पेसालाई आधुनिक र व्यावसायिक बनाउन बल पु¥याउने हुँदा वडाको समृद्धिमा सहज हुने विश्वास व्यक्त गरे । यसका लागि समन्वय गर्ने सहकारी संस्था र अनुदान उपलब्ध गराउने परियोजनालाई उनले धन्यवाद दिए ।

 

कृषकले सामग्रीको सही सदुपयोग नगरे भविष्यमा यस्ता अवसर नआउने तर सही सदुपयोग भए गाउँपालिकाबाट पनि अनुदानका कार्यक्रम उपलब्ध गराउन सकिने वडाध्यक्षको भनाइ थियो । 

 

मुख्यगरी कोञ्ज्योसोमलाई नै कार्यक्षेत्र बनाई सदस्य किसानको आर्थिक, व्यावसायिक हितका लागि काम गरिरहेको उज्यालो किरण साना किसान कृषि सहकारी संस्थाले यसअघि शंखु, नल्लु, भारदेउका किसानलाई पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र ललितपुरबाट कृषि सामग्री उपलब्ध गराएको छ । 

 

यस किसिमका कृषि सामग्री र बिउबिजन केही दिनमै दलाचोकीमा वितरण गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष घिमिरेले जानकारी दिए ।