close

रुकुम पूर्वका बारीमा हिमाचल प्रदेशको आलु 

रुकुम पूर्वका बारीमा हिमाचल प्रदेशको आलु 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वमा आलु रोप्ने चटारो सुरु भएको । चैत लागेसँगै किसान आलु रोप्ने सुरसारमा लागेका हुन् । गाउँमा किसानलाई बर्खे आलु रोप्ने चटारोले छोपे पनि बिउ अभावपछि कहाँबाट ल्याउने भन्ने पिरलो छ । अहिले कृषक आलु रोप्न दिनभर खेतबारी सफाइमा खटिरहेका छन् । पुरुष खनजोत र महिला डोकोमा गाईभैँसीको मल बोक्न व्यस्त छन् ।

 

अकासे पानी परेका बेला फागुन दोस्रो सातादेखि बर्खे आलु रोप्न सुरु हुने गरेकामा अहिले ढिलो गरी चैतमा लगाउन थालिएको किसान बताउँछन् । यो वर्ष अकासे पानी नपरेको र आलुको बिउ अभाव रहेकाले भर्खरै रोप्ने सुरसार गरिएको भूमे गाउँपालिकाको वडा नम्बर २ गाबाङका जुनकुमार रोका मगरले बताए ।

 

विगत वर्षमा गाउँमा भण्डारण गरिएको आलुको बिउ प्रशस्त पाइने गरे पनि यो वर्ष अभाव भएको रोकाले जानकारी दिए । रोका मात्र होइन, जिल्लाका ३ गाउँपालिका पुथाउत्तरगंगा, भूमे र सिस्नेमा बिउ अभावले आलु रोप्ने समयमा कृषक चिन्तित छन् । 

 

भारतबाट बीउ आयात


गाउँमा आलु बिउ अभाव भएपछि भूमे गाउँपालिकाको वडा नम्बर २ स्थित मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले भारतको हिमाचल प्रदेशबाट बिउ ल्याएको व्यवस्थापक सन्दीप अधिकारीले बताए । आलु रोप्ने समय सुरु भएसँगै गाउँमा बिउ अभाव भएपछि कृषकको माग पूर्ति गर्न गाउँपालिकाको समन्वयमा पालिकामा अनुकूल हुने बिउ हिमाचल प्रदेशबाट ल्याइएको व्यवस्थापक अधिकारीले जानकारी दिए । 

 

पहिलो चरणमा १२० क्विन्टल ल्याएकामा प्रतिकिलो ७५ रुपैयाँमा सबै बिउ बिक्री भइसकेको सहकारीले जनाएको छ । कृषकले पुनः माग गरेपछि २/३ दिनमै भारतबाट १३० क्विन्टल बिउ आउन लागेको सहकारीका व्यवस्थापक अधिकारी सुनाउँछन् । 

 

आलु उत्पादन नहुँदा बिउ अभाव

 

रुकुम पूर्वका ३ पालिकामध्ये पुथाउत्तरगंगामा प्रशस्त मात्रामा आलु उत्पादन हुने गरेकामा यो वर्ष उत्पादनै नभएपछि बिक्री गर्ने अवस्था नरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल) ले जानकारी दिइन् ।


गत वर्षमा यहाँका कृषकले आलु रोपेर बाँकी रहेको बिउ बिक्री गर्दै आएकामा यो वर्ष पुथाउत्तरगंगामा पनि बिउ अभाव देखिएको उपाध्यक्ष मल्लले बताइन् । 

 

गत वर्ष आलु उत्पादनमा कमी आउनुको मुख्य कारण सलह कीरा रहेको स्थानीय कृषक सुनाउँछन् । अलिअलि उत्पादन भएको आलु पनि खन्ने बेला सबै बिक्री भइसकेकाले बिउ अभाव भएको हो ।