close

कृषक पाठशालामा विद्यालय सिकाइको झल्को 

कृषक पाठशालामा विद्यालय सिकाइको झल्को 

Trulli
ADVERTISEMENT

मोरङ- झट्ट हेर्दा विद्यालयजस्तै देखिन्छ । युवादेखि अधबैँसे उमेर समूहका महिला तथा पुरुष नयाँ-नयाँ कुरा सिक्न विद्यालय गए जसरी नै जाने गरेका छन् । कपी, कलम, कुटो कोदालो, बिरुवा, पानी, मल बोकेर कृषि सिकिरहेका हुन्छन् । विद्यालयमा ‘क, ख’ जस्तै सिकिरहेका हुन्छन् ।

 

विद्यालयमा जसरी सिक्ने-सिकाइने गरे पनि विद्यालय भने होइन । खुला विद्यालयजस्तै बाँझा बारीमा सिकिरहेका हुन्छन् । कृषिमा नयाँ प्रविधि प्रयोग गरेर आत्मनिर्भर बन्न उनीहरू लागिपरेका छन् ।

 

स्थानीय तहहरूले कृषक पाठशाला बनाएर कृषकलाई सिकाइरहेका हुन् । २०-२५ जनाको समूह बनाएर कृषकलाई बारीमै प्रयोगात्मकसहित सिकाउने गरिएको छ । कृषकको खेतलाई नै पाठशालाका रूपमा लिई व्यावहारिक ज्ञान दिने थलोको रूपमा पाठशालालाई लिने गरिन्छ ।

 

कृषकको ज्ञान, सीप, क्षमतालाई प्रदर्शन गर्ने उदेश्यले स्थापना गरिएका पाठशालाले कृषकलाई जाँगरिलोसमेत बनाउने बेलबारी नगरपालिका कृषि शाखाका प्रमुख विनोद दाहालले बताए । बालीनालीमा आइपरेका समस्यालाई पाठ्यक्रम मानी कक्षाकोठामा पठनपाठन गराउनुको सट्टा कृषकको खेतबारीलाई पाठशाला बनाएर सिकाउने गरेको उनले सुनाए ।

 

थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने गरी सिकाइने पाठशालाप्रति कृषकको समेत आकर्षण बढिरहेको छ । खेतबारीमा व्यावहारिक, प्रयोगात्मक र खोजपूर्ण तरिकाबाट सिक्ने गरिएको पाठशालामा सिकिरहेकी रञ्जिता शिवाकोटीले बताइन् ।

 

समूह छलफलका आधारमा किसानलाई सिकाउने गरिन्छ । बेर्ना उमार्नेदेखि फल नलागेसम्म सिकाइने गरिएको छ । बेर्ना उमार्ने, रोप्ने, सिँचाइ, मल लगाउने, अर्गानिक मल उत्पादन, बिरुवामा लाग्ने रोग किरा नियन्त्रण गर्ने र उत्पादित वस्तु बजारीकरण गर्नसमेत सिकाउने गरिएको कृषि प्राविधिक बताउँछन् ।

 

‘परम्परागत खेतीभन्दा भिन्न तरिकाले सिकाइँदो रहेछ’, प्रशिक्षार्थी सरला पौडेलले भनिन्, ‘यसले उत्पादनसमेत राम्रो दिने विश्वासमा छौँ ।’ पाठशालामा बाली अवधिभर नै प्रयोगात्मक समस्या पहिचान र समस्या समाधानको खोजपूर्ण तरिका अवलम्बन गरेर कृषकलाई सिकाउने गरिन्छ ।

 

पाठशाला स्थापनापछि बाँझा खोतबारीमा समेत खेती लगाउन थालिएको छ । समूहमै भेला भएर खेर गइरहेको जमिनमा खेती लगाउन थालिएको छ । उर्लाबारीको वडा नम्बर ९ स्थित रतुवा खोला किनारमा खेर गइरहेको जमिनमा समेत स्थानीयले तरकारी खेती थालेका छन् ।

 

उर्लाबारी नगरपालिकाले पाठशाला स्थापना गरिदिएपछि उनीहरूले खोला किनारको कासघारीलाई तरकारी बारीमा परिणत गरेका छन् । पाठशालाले सामूहिकदेखि व्यावसायिक खेती गर्न सहयोग पुगेको बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।